धरानः धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार औपचारिक अध्ययनको केन्द्र मात्र होइन अनौपचारिक र विचित्र ज्ञानको सङ्ग्रहालय पनि हो । खाद्य तथा प्रविधिसम्बन्धी अध्ययन हुने नेपालकै एक मात्र सरकारी क्याम्पस हो हात्तीसार । नेपालकै प्राविधिक विद्यार्थी उत्पादनको केन्द्र मानिएको हात्तीसार क्याम्पसको ल्याब हलमा सञ्चालित सङ्ग्रहालय ओझेलमा छ ।

तीन वटा टाउको भएका बच्चादेखि दुई टाउके मृगसम्म त्यही सङ्ग्रहालयमा अटाएका छन् । २०२८ सालदेखि सञ्चालित उक्त सङ्ग्रहालय अवलोकन गर्न विद्यालयका तथा विश्वविद्यालयका विद्यार्थी गइरहन्छन् ।

क्याम्पस प्रमुख डा. धनबहादुर कार्कीका अनुसार एक दिनमा ४ वटा देखि ८ वटा सम्म विद्यालयका विद्यार्थी सङ्ग्रहालय हेर्न आउँछन् । टाउको नभएको मान्छे, सुँड भएको सुँगुरको बच्चा, ६ आँैला भएको मान्छे र दुई टाउको भएको भैँसीको पाडो सबैभन्दा धेरै आकर्षणमा परेको उनको भनाइ छ ।

hattisar lab (4) pradeshportal

गोमन, धामन, करेत लगायत सर्पहरू लहरै राखिएको छ । नेपालमा पाइने सबै खालका माछाहरू त्यहाँ सङ्कलित छन् । वन्यजन्तुका हाड, छाला र टाउको पनि सँगै सजाएर राखिएको छ । मान्छेको अस्थिपञ्जरदेखि टाउकाको आकृति त्यहाँ देख्न सकिन्छ ।फर्मालिनको झोलमा राखेर संरक्षण गरिएका माछादेखि मान्छेसम्मको आकृति जस्ताको तस्तै देख्न सकिन्छ ।

सो सङ्ग्रहालयले आजसम्म एक पैसा पनि आम्दानी गर्न सकेको छैन । त्यसमा लाग्ने एक जना कर्मचारी लगायतका खर्चहरू स्वयम् क्याम्पसले नै बेहोरिरहेको छ । अवलोकनको लागि देखिएको भीडबाट आम्दानी बढाउन सकिनेमा स्वयम् कार्की विश्वस्त छन् । तर त्यसको लागि प्राविधिक व्यवस्थापन गर्न नसक्दा समस्या परिरहेको उनको भनाइ छ ।

विभिन्न विद्यालय र कलेजका विद्यार्थीको घुइँचो लाग्ने गरेको सो सङ्ग्र्रहालयको बारेमा सो कलेजकै विद्यार्थी भने बेखबर झैँ देखिन्छन् । त्यसले गर्दा सङ्ग्रहालय ओझेलमा परिरहेको पाइन्छ । क्याम्पस प्रमुख कार्की सङ्ग्रहालयको लागि छुट्टै भवन बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको सुनाउँछन् । सङ्ग्रहालय व्यवस्थित भएपछि प्रवेश शुल्क लिने र त्यही पैसाले थप व्यवस्थित बनाइने उनको भनाइ छ ।

hattisar lab (5) pradeshportal

धरान उपमहानगरपालिकासँगको सहकार्यमा व्यवस्थापन गर्ने काम अगाडि बढ्न लागेको कार्की बताउँछन् । त्यसको लागि शिक्षा विभागमा पनि कुरा गरिएको र विभाग सकारात्मक रहेको उनको भनाइ छ । क्याम्पस अलि बढी शैक्षिक कार्यक्रममा व्यस्त हुने भएकाले त्यति धेरै प्रचार गर्न नसकेको कार्की स्वीकार्छन् ।

उता, सोही क्याम्पसका विद्यार्थी दिनेश सुवेदी क्याम्पस प्रशासनले चासो नदिएका कारण सङ्ग्रहालय ओझेलमा परेको बताउँछन् । क्याम्पस प्रशासनले खासै ध्यान दिन नदिएको उनको आरोप छ । सङ्ग्रहालय नाम मात्रको भएको तर त्यसलाई थप आम्दानीसँग जोड्न नसकिएको उनी बताउँछन् । उनी भन्छन्, ‘जति छ त्यसमा अन्य कुराहरू पनि थप गर्न सक्ने हो भने त्यसको प्रभावकारिता बढ्ने देखिन्छ ।’

hattisar lab (3) pradeshportal