शंकर खत्री

इटहरीःउद्योग बाणिज्य संघ इटहरीले विभिन्न व्यवासयीक पसलहरुमा सेनिटाइज गर्न थालेको छ । इटहरीमा बजार संचालन भएसँगै कोरोना संक्रमण फैलन सक्ने भन्दै संघले सेनिटाइज गर्न थालेको हो । इटहरीमा विभिन्न समुह तथा संघसंस्थाले सेनिटाइज गर्ने गरेको पाइए पनि पसलहरुमा कसैले सेनिटाइज नगरेकोले उद्योग बाणिज्य संघले सेनिटाइज गर्न थालेको संघका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले जानकारी दिए । ‘जिल्ला प्रशासन कार्यालय सुनसरीले व्यवसायीक पसलहरु संचालन गर्न दिने निणर्य गरे सँगै पसलहरु धमाधम खुल्न थालेका छन् । यसरी पसल खुले पछि ग्राहक तथा व्यवसयी बाटै कोरोना संक्रमण हुनसक्ने भएकाले सेनिटाइज गरेका हौँ’, पोखरेलले बताए ।


लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले समग्र व्यवसायी समस्यमा परेकाले सुनसरीका उद्योग बाणिज्य संघको पहलमा दिउँसो २ बजे सम्म पसल सञ्चालन गर्न पाउने निणर्य भएको उद्योग बाणिज्य संघकी कोषध्यक्ष गायत्री कटुवाल भण्डारीले बताइन् । ‘हामीले उद्योग बाणिज्य संघको तर्फबाट व्यवसायीलाई राहत होस् भनेर सेनिटाइजसँगै घरभाडा छुटका लागि पहल, बैंकको ऋणमा सहजताका लागि बैंकसँग पहल र व्यवसायीक हितका लागि विभिन्न पाहल गर्दै आएका छौँ’, गायत्रीले भनिन् । साथै उनले व्यवसाय सञ्चालन गर्दा व्यवसायीले मास्क लागाएका छन् कि छैनन्, पसलमा सेनिटाइजर छ कि छैन, पसललाई वेला वेलामा सेनिटाइज गरेका छन् कि छैनन् र ग्राहकहरु स्वास्थ्य सुरक्षा नअपनाइ आउँदा सहजिकरण गरेका छन् कि छैनन् भनेर बेला बेलामा अनुगमन गरिरहेको पनि जानकारी दिइन् ।

उद्योग बार्णिज्य संघले गरेको कामलाई व्यवसायीहरुले पनि धन्यवाद ज्ञापन गरेका छन् । संघले समय समयमा आफ्नो पसलको समस्या बुझन आउने गरेको र हाल सेनिटाइज गरिदिएकोमा खुसि व्यक्त गरेका छन् । ‘उहाँहरु समय समयमा यहाँ आउनुहुन्छ र के के समस्या छन् भनेर सोध्नु हुन्छ । हामीले दिएको अमूल्य भोट खेर नगएको अनुभव भएको छ’, इटहरीको सुविधा मार्केटमा कपडा पसल सञ्चालन गर्दै आएका एक व्यवसायीले भने । उनले सेनिटाइज अभियान फेरी बेला बेलामा सञ्चालन गर्न पनि अनुरोध गरे ।