धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मोरङको धनपालथान ६ का ती युवकको आइतबार राति ८स्४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।
यसअघि आइतबार दिउँसो विराटनगर १२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ ।

महोत्तरीमा ६० वर्षीयको मृत्यु
यसैगरी महोत्तरीको लोहारपट्टी नगरपालिका ३ बस्‍ने एक ६० वर्षीय पुरुषको कोभिड १९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकामा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।-रासस