धरानः संविधान दिवशको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको छ ।

कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनमा रक्तदान कार्यक्रमहरु आयोजना नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थाले पछि एकेडेमीले रक्तदान कार्यक्रम गर्ने भएको छ । साथै लकडाउनमा अस्पतालहरु पनि खुल्ला नभएको अवश्थामा बिरामीहरुले स्वास्थ्य पाउन नसक्ने भएकाले रक्तदान कार्यक्रमकै अवसरमा निशुल्क स्वास्थ्य परामर्श दिने भएको छ ।

असोज ३ गते धरान स्थित लोकतान्त्रिक चौतारीमा रक्तदान तथा निशुल्क स्वास्थ्य परामर्श कार्यक्रमको तयारी भइरहेको एकेडेमीका सुनसरी जिल्ला सचिव सुदेश चापागाईले बताए । उनका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हातेमालो फाउण्डेशनका चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य परामर्श पनि दिइने भएको छ ।

कोरोना संक्रमितहरुका लागि प्लाज्मा थेरापी उपचार पद्दती बिस्तार भइरहेको अवश्थामा रगतको अभाव हुन नदिनका लागि पनि संविधान दिवशको अवसरमा रक्तदान कार्यक्रम तय गरिएको उनको भनाई छ । रक्तदान कार्यक्रम विहान ८ बजे देखि संचालन हुने उनले बताए ।

त्यसै गरि संविधान दिवशको अवसरमा धरानमा एकेडेमीकै आयोजनामा दीप प्रज्वलन कार्यक्रम पनि हुने भएको छ । नेपाली जनताले बनाएको संविधान जारी भएको दिनको सम्झनामा धरानको भानुचौंकमा साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम हुने उनले बताए । कार्यक्रमको प्रमुख अतिथी नेकपा प्रदेश १ कमीटीका अध्यक्ष देवराज घिमिरे रहने पनि उनले बताए ।