इटहरीः मंसिर १ गते राती २ बजेको समयमा सुनसरीको इटहरी २० तरहरामा रहेको रुद्राक्ष पाटी प्यालेसबाट जुवा खालबाट पक्राउ परेका इटहरीका पत्रकार धनबहादुर पुरी सहित ८ जनालाई ७ दिन म्याद थपेको भोलि पल्टै बिहिबार साँझ जनही १५ हजार धरौटीमा जिल्ला प्रशासन कार्यालय सुनसरीले हिरासत मुक्त गरेको छ ।
पत्रकार पुरी सहित ८ जनालाई आवश्यक अनुसन्धान पुरा नभएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर १ गतेबाट लागू हुने गरि ७ दिनको म्याद थप गर्न बुधबार प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोख्रेल सामु पेश गरेको थियो । प्रजिअ पोख्रेलले बुधबार प्रहरीको माग अनुसार पत्रकार पुरी सहित ८ जना अभियुक्तलाई ७ दिन हिरासतमा राखि थप अनुसन्धान गर्न म्याद थप गरेका थिए । म्याद थप गरेको भोलिपल्टै माथि दवाव र आदेश भन्दै प्रजि पोख्रेलले पत्रकार पुरी सहित ८ जनालाई जनही १५ हजार धरौटी लिएर बिहिबार बेलुका हिरासत मुक्त गरेका छन् ।
नगद दुई लाख ८० हजार दुई सय ५५ रुपैयासहित पक्राउ परेका इटहरीका पत्रकार धनबहादुर पुरीसहित दिलकुमार पुरी, मुकेश बस्नेत, नबिन गुरुङ, भक्तबहादुर पुरी, नारायण गिरी, हरिराम बानियाँ र विष्णु बास्तोलाको तिहारको सार्वजनिक बिदा परेका कारण म्याद थप हुन सकेको थिएन ।
विगत केही दिनदेखि पत्रकार पुरी सहितको समूह विभिन्न ठाउँमा जुवा खेल्ने खेलाउने कार्यमा सक्रिय रहेको विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले उनीहरुविरुद्ध निगरानी बढाएको थियो ।
सूचना चुहावट हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय इटहरीलाई समेत कुनै जानकारी नदिई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक विष्ण्ु बस्नेत सहितको सादा पोसाकमा रहेको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको हो । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तहरुको समूहले दुव्र्यवहारसमेत गरेको थियो । अभियुक्तहरुले घटनास्थलमा पुगेको प्रहरी टोलीलाई २५ हजार रुपैयाँ घुस दिएर घटना सामसुम पार्न खोजेको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले सामाजिक सञ्जालमार्फत् खुलासा गरेका थिए ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको हकमा जुवा ऐन अन्र्तगतको मुद्धामा कारबाहीको प्रकृया अघि बढाइएको थियो । जुवा ऐन अन्र्तगतको नयाँ व्यवस्था अनुसार पहिलो पटक खेल्ने वा खेलाउनेको हकमा तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । दोस्रो पटकको हकमा एक वषसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवना तोकिएको छ । जुवा खेल्न प्रयोग भएका साधन र जुवा खालमा प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति भने जफत हुने कानुनी व्यवस्था रहेको छ । तर प्रजिअ पोख्रेलले माथिको दवावमा जनही १५ हजार मात्र धरौटी लिएर उनिहरुलाई हिरासत मुक्त गरेका छन् ।
प्रजिअलाई ठूलै दवाव
पत्रकार पुरी सहित पक्राउ परेका ८ जना छुटाउन सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोख्रेललाई नेपाली कांग्रेस केन्द्रिय नेता, नेकपा अध्यक्ष प्रचण्डको सचिवालय, गृहमन्त्रालय र पत्रकार महासंघको केन्द्रिय समितिका केही जिम्मेवारी अधिकारीसम्मको दवाव आएको स्रोतको दावी छ । उनिलाई छुटाउन स्थानीय रुपमा प्रेस यूनियन,स्थानीय नेता, व्यवसायीहरु समेत लागि परेको स्रोतको भनाई छ । नेपाली कांग्रेस भित्रको इटहरीको एउटा खेमा भने उनलाई कानून अनुसार नै कार्वाही गर्न पर्छ भन्ने पक्षमा लागि परेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved