इटहरीः आज देशभर एक हजार ६ सय ७४ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै दैशभर संक्रमितको कुल संख्या दुई लाख १८ हजार ६ सय ३९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये ६ सय ६१ जना महिला र एक हजार १३ जना पुरुष रहेका छन् । आज देशभर दुई हजार तीन सय २३ जना संक्रमित निको भएका छन् । यससँगै देशभर हालसम्म निको हुने संक्रमितको संख्या एक लाख ९३ हजार तीन सय २५ जना पुगेको छ । संक्रमण निको हुने दर ८८.४ प्रतिशत पुगेको छ ।

यता, आज देशभर सात जना संक्रमितको ज्यान गएको छ । यससँगै हालसम्म देशभर ज्यान गुमाउने संक्रमितको कुल संख्या एक हजार तीन सय पाँँच जना रहेको छ । आज देशभरका विभिन्न प्रयोगशालामा नौ हजार आठ सय पाँच स्वाब नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । हाल देशभर २४ हजार नौ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १७ हजार दुई सय ६ जना होम आइसोलेसनमा र अन्य संस्थागत आइसोलेसनमा रहेका छन् ।