म्यासेन्जर एप ह्वाट्सएपले गोपनीयताका नियम र शर्तहरू बदलेपछि सिग्नल र टेलिग्रामजस्ता एपमा प्रयोगकर्ताहरूको ओइरो लागेको छ ।

लाखौं प्रयोगकर्ताहरूले डाउनलोड गरेपछि सिग्नलमा प्राविधिक समस्या नै देखिएको छ । ट्वीटरमार्फत सिग्नलले यस्तो जानकारी दिएको हो । कम्पनीले यो समस्या समाधान गर्न पहल भइरहेको पनि जनाएको छ । सिग्नल प्रयोगकर्ताहरूले मोबाइल र डेस्कटप दुवैमा सन्देश पठाउन समस्या भइरहेको बताएका छन् । आफ्ना प्रयोगकर्ता अन्य सञ्जालमा केन्द्रित हुन थालेपछि ह्वाट्स्एपले गोपनीयताका नियम र शर्तहरू परिवर्तन गर्ने म्याद १५ मे सम्म थप गरेको छ ।

ह्वाट्सएपले युरोप बाहिरका प्रयोगकर्तालाई केन्द्रित गरी गोपनीयका नियम र शर्तहरूमा कडाइ गरेको छ। अर्थात, युरोप बाहिरका मानिसहरूले अब ह्वाट्सएप चलाउन आफ्ना धेरै गोपनीयताहरू सुम्पनुपर्नेछ । आफ्नो गोपनीयतामाथि आक्रमण गरेको आरोप प्रयोगकर्ताहरूले लगाइरहँदा ह्वाट्सएपले भने सेवा सुधार गर्न यस्तो निर्णय लिइएको दावी गरेको छ । ह्वाट्सएप प्रयोग गर्न प्रयोगकर्ताहरूले पछिल्लो अपडेट अनिवार्य स्वीकार गर्नुपर्छ । -एजेन्सी