इटहरीः दक्षिणी छिमेकी मुलुक भारतको सरकारले आजदेखि त्यहाँका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेट जाँदा खोप अभियान सुरूवात गर्नेछन् ‌। तीन हजार ६ वटा खोप केन्द्रबाट आज ३ लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने तयारी पूरा भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्‌ । यसअनुसार हरेक खोप केन्द्रमा ३ सय स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ । चिकित्सकपछि सर्वसाधारणलाई पनि खोप दिइनेछ । खोप लगाउन देशका ७ सय जिल्लामा ३० करोड जनशक्ति परिचालन गरिएको छ । अस्ट्राजेनिकासँग मिलेर घरेलु कम्पनी सेरम इन्स्टिच्युटले तयार गरेको कोभिडशिल्ड र भारत बायोटेकले तयार गरेको कोभ्याक्सिन खोप लगाउन लागिएको हो । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पहिलो खोप लगाएको २८ दिनमा दोस्रो खोप लगाउनुपर्ने उल्लेख गरेको छ ।

भारतले पहिलो चरणमा ३० करोड मानिसलाई कोरोना विरूद्धको खोप लगाउने योजना अघि सारेको छ । यसका लागि कोभिडशिल्ड १० लाख र कोभ्याक्सिन ५५ लाख डोज खरिद गरेको छ । भारतको जनसंख्या १ अर्ब ३० करोड करिब छ । भारत कोरोना महामारीबाट सबैभन्दा प्रभावित मुलुकको सूचीको दोस्रो स्थानमा छ । त्यहाँ अहिलेसम्म १ करोड ५ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्‌ भने १ लाख ५२ हजार जनाको ज्यान गइसकेको छ । -एजेन्सी