सर्लाहीः अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् ।

अग्रवाल केही दिनयता आफूहरूको सम्पर्कभन्दा बाहिर रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । यहाँका उखु किसानको बक्यौता रकम तिर्न बाँकी रहेकै बेला सञ्चालक सम्पर्कविहीन भएपछि किसानको रकम झुक्तानीमा समस्या आएको छ । ‘केही दिनयता अन्नपूर्णका मिलका सञ्चालक हाम्रो सम्पर्कमा हुनुहुन्न,’ प्रजिअ पौडेलले भने, ‘हामीले रोक्का गरेको खातामा रकम भए पनि अग्रवाल सम्पर्कमा नरहेका कारण किसानको भुक्तानी हुनसकेको छैन ।’ उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिब १७ करोड रुपैयाँ बक्यौता मिलले तिर्न बाँकी छ । ‘उद्योगले करिब १७ करोड रुपैयाँ किसानलाई दिन बाँकी रहेको बताएको थियो,’ प्रजिअ पौडेलले भने । बक्यौतामध्ये ११ करोड १६ लाख रुपैयाँ भने उद्योगले किसानलाई भुक्तानी गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हालिदिन प्रशासन र प्रहरीले संयुक्तरूपमा पहल गरेको थियो । अहिले पनि उद्योगपति अग्रवालको बैङ्क खातामा एक करोड ७३ लाख रहेको छ । उद्योपति सम्पर्कविहीन हुँदा किसानले पैसा पाएनौँ भन्दै गुनासो गरिरहेको राठौरले बताए । अन्नपूर्णसहित मुलुकभरका चिनी उद्योगले किसानको बक्यौता भुक्तानी नगरेपछि सरकारले उद्योगपतिको बैङ्क खाता रोक्का गर्ने, चिनी बिक्रीमा नियन्त्रण गर्नेलगायत उपाय अपनाएको थियो । उद्योगपतिहरूले भने किसानको भुक्तानी दिन आलटाल गर्दै आएका छन् । जिल्लाकै गोडैता नगरपालिकाअन्तर्गत बगदहमा रहेको महालक्ष्मी सुगर मिलले भने किसानको गत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जनाएको छ ।

यता, उद्योगीलाई उखु पाउन मुस्किल भएपछि सर्लाहीको हरिवन ११ मा रहेको ईन्दुशङ्कर चिनी मिलले यस वर्षको उखुको सम्पूर्ण रकम भुक्तानी गरिसकेको जनाएको छ । गत वर्षमा जिल्लाको अन्नपूर्णलगायत मिलमा उखु बिक्री गरेकै भुक्तानी नपाएको जनाउँदै आन्दोलन चलिरहेको भए पनि ईन्दुशङ्कर चिनी मिलले भने चालू सिजनकै भुक्तानी दिएपछि उखु उत्पादक किसान दङ्ग छन् । किसानलाई भुक्तानीमा खासै झन्झट नदिएको ईन्दुशङ्करले गत वर्षको मूल्यलाई नै आधार मानेर यस वर्ष उखु खरिद गरेको थियो । -रासस