इटहरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड माधव पक्षका युवा नेता योगेश भट्टराईले देशको जनमत कता छ भनेर माघ ९ गते काठमाडौको कार्यक्रमले देखाएको बताएका छन् । सुनसरीको इटहरीमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता भट्टराईले दुई दिन अघि काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको कार्यक्रमले देशको जनमत देखाएको दाबी गरेका हुन् ।

स्वच्छाचारी शासनका लागि के पी ओलीले प्रतिगमन गरेको आरोप लगाउँदै नेता भट्टराईले कम्युनिस्ट पार्टीको सदस्य वन्ने हो भने प्रधानमन्त्रीको पार्टीमा लाग्नु नर्क जानु हो भन्दै आफनो पक्षमा लाग्न आग्रह गरे । उनले प्रजातान्त्रिक सरकार र संविधानको रक्षा गर्नु पर्छ भन्ने लाग्छ भने के पी ओली गुटमा जानु नहुने तर्क गरे । प्रधानमन्त्रीले गरेको संसद विघटन र पार्टी विभाजन गर्न खोजेको प्रति कडा आक्रोश पोख्दै सम्बोधनका क्रममा भट्टराईले लामो समय प्रधानमन्त्री ओलीको आलोचनामा खर्चिएका थिए ।

सोही कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेकपामा प्रवेश गर्ने राकेश मगर, सन्दीप अधिकारी, रोहन राइर्, प्रमोद ठाकुर, कुलदीप चौधरी लगायतका ३१ जनालाई टिका लगाएर प्रमुख अतिथी भट्टराईले स्वागत गरेका थिए । कार्यक्रममा नेकपाकी नेतृ रामकुमारी चौधरी रोजिना , सन्तोष थारु, जिल्ला अध्यक्ष योगेन्द्र मण्डल लगायतको सहभागिता रहेको थियो ।