इटहरीः मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ५ का प्रवीण बास्तोला गत पौष ३ गते शनिबारका दिन अरु दिनजस्तै बिहानै उठेर आफ्नो काम गर्न तल्लिन देखिन्थे ।

पेसाले बस चालक उनी शनिबार भने बिदा बस्ने गर्थे । शनिबार भएकाले उनी नुहाइधुवाइमा व्यस्त थिए । त्योसँगै उनले चढ्ने स्कुटर पनि सफा गरेका थिए । सबैसँग मिजासिलो भएकै कारण उनले छिमेकी भाउजूहरुलाई ‘सबै सफा गर्दा त कस्तो राम्रो देखिदो रहेछ है’ भन्दै जिस्किए । सबै काम सकेर प्रवीण दिउँसोको साढे २ बजेतिर घरबाट निस्किए । घरबाट निस्कँदै गर्दा उनले आफ्नी आमालाई ‘मलाई मासु खान मन लागेको छ भरे मासु ल्याएर पकाउनु है’ भनेका थिए । त्यसपछि उनी साथीको घरमा गएको बताइएको छ । करीब ४ बजेतिर साथीको घर पुगेको र त्यहाँ मदिरा सेवन गर्दै बसेको बताइएको छ । त्यही समयबाट प्रवीण घर फर्किनन् । बेलुका अबेरसम्म र भोलिपल्ट बिहानसम्म पनि छोरा घर नआउनुको साथै सम्पर्कविहीन भएपछि परिवारले उनको खोजी गरेको थियो । त्यत्तिकैमा ४ गते आइतबार प्रवीणका बुबा प्रेमप्रसाद बास्तोलाको मोबाइलमा दुर्गा तामाङ्ले फोन गरेर प्रवीणको मृत्यु भएको भन्दै जानकारी गराएका थिए ।

मृत्यु भए पनि कुन अस्पतलामा उनको शव राखिएको छ भन्ने परिवारलाई थाहा नै भएन । उर्लाबारीमा रहेको अरनिको अस्पतालभन्दा झण्डै २०० मिटर भित्र प्रवीणको घर रहेको छ । परिवारले आफ्नो छोरा त्यही अस्पतालमा हुनसक्ने आशाका साथ अस्पताल पुगे । तर, त्यहाँ पुग्दा उनीहरुले प्रवीणको शव पाउन सकेनन् । त्यसपछि उनीहरु विभिन्न अस्पताल हुँदै गोदावरी अस्पतालमा पुगेका थिए । अस्पतालमा पुग्दा एक स्वास्थ्यकर्मीले ‘उ त्यहाँ छ तपाईँको छोरा’ भन्दै प्रवीणका बाबुआमालाई देखाइदिए । दिउँसो भरे मासु पकाउनु है खान मन छ भनेर हाँस्दै हिँडेको छोरो भोलिपल्ट मृत अवस्थामा भेट्दा परिवारको होस नै उड्यो । त्यहाँ प्रवीणको शव एक सेतो कपडाले ढाकेर राखिएको थियो । उनकी आमाले त्यो कपडा उठाएर हेर्दा आफ्नो छोराको मृत्यु भएर ४÷५ घण्टादेखि त्यहाँ राखिएको थाहा पाइन् । एक आमाले आफ्नो छोरा मृत देख्दा कस्तो होला ? हामीले कल्पना पनि गर्न नसक्ने कुरा प्रवीणकी आमाले भोगिन् । छोरा त्यो अवस्थामा भेट्दा बास्तोला परिवारले यो मृत्यु नभई हत्या हुन सक्ने आशंका गरे । प्रवीणको दाहसँस्कारसँगै बास्तोला परिवारले प्रवीणको हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा पुस ९ गते जाहेरी दिए । ३१ वर्षीय प्रवीणको हत्या भएको भन्दै बुबा प्रेमप्रसादले जाहेरी दर्ता गराएपछि उर्लाबारी प्रहरीले हत्यामा संलग्न भएको आरोपमा ३१ वर्षीय राजेश राणपहेलीसहित ६ जनालाई पक्राउ गर्यो ।

त्यसअघि प्रहरीले गोदावरी अस्पतालमा मृत्यु भएका प्रवीण कोठामा अचेत अवस्थामा फेला परेको र उनलाई गोदावरी अस्पतालमा पुर्याउनासाथ डाक्टरले मृत्यु भएको पुष्टि गरेको जनाएको छ । त्यो घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरीले प्रवीणको साथीको घरमा गएर मुचुल्का उठाएको थियो । त्यसपछि प्रहरीले प्रवीणको शवलाई पोस्टमार्टमको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो । पोस्टमार्टमका क्रममा प्रवीणको शरीरको कुनै पनि भागमा चोट नलागेको र कोठामा निसास्सिएर उनको मृत्यु भएको भन्ने रिपोर्ट आयो । उनी विष खाएर वा खुवाइएर मरेको हुनसक्ने भन्दै भिसेरा परीक्षण गर्दा पनि त्यस्तो केही देखिएन । इलाका प्रहरी कार्यालय उर्लाबारीमा दर्ता भएको ‘ज्यानसम्बन्धी कसुर’ मुद्दा प्रहरीले अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा पठायो । माघ २ गते सरकारी वकिल कार्यालय मोरङले मुद्दा नचलाउने निर्णय गर्दै ६ जना आरोपीलाई ‘जिम्मा जमानी’मा छोड्न प्रहरीलाई निर्देशन दियो । प्रहरीको अनुसन्धान प्रतिवेदनमा मृत्युको कारण यकिन नखुलेको र आरोपीहरुले इन्कार गरेकाले ‘मुद्दा बचाउन’ थप अनुसन्धान गर्नेगरी मिसिल फिर्ता पठाइएको सरकारी वकिल कार्यालयले जानकारी दियो ।

सरकारी वकिलले हतारमा मुद्दा चलाउँदा मुद्दा कमजोर हुने रायसहित ‘आरोपीलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्नू’ भन्ने निर्देशन दिएपछि उर्लाबारी प्रहरीले अरोपीहरुलाई छोडेको थियो । आफ्ना दाजुको मृत्यु भएको दुई महिना बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न भएकाहरुको विषयमा केही नगरेको भन्दै इलाका प्रहरी कार्यालयमा मिसिल हेर्न पुगिन् प्रवीणकी बहिनी सदिक्षा बास्तोला । उनी अध्ययनको सिलसिलामा अमेरिकामा बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय उर्लाबारीमा गएर दाजुको मुद्दासम्बन्धी मिसिल फायल हेर्दा सदिक्षा चकित परिन् । उनले दाइको मिसिल फायलमा एउटा तस्बिर पनि देखिन् जुन उनको दाइसँग कतै पनि सम्बन्धित थिएन ।

प्रवीणको मिसिल फायलमा एक ‘फोटो सप’बाट ‘एडिट’ गरिएको तस्बिर सदिक्षाले फेला पारिन् । आफ्नो दाइको मिसिलमा अर्काको फोटो देखेपछि उनले प्रहरी निरीक्षक उद्धव पोखरेललाई त्यसबारे सोधिन् । सुरुमा त, पोखरेलले आफ्नै दाइको फोटो पनि नचिन्ने भन्दै सदिक्षालाई गाली गरे । सदिक्षा र उनका परिवारले त्यो तस्बिर प्रवीणको नभएको जिकिर गरेपछि पोखरेल मिसिल फायल बन्द गर्दै फायल बोकेर त्यहाँबाट हिँड्छन् । प्रहरी प्रशासनमा भएको यो लापरबाहीलाई सदिक्षाले हेर्न सकिनन् र उनले आफ्नो सामाजिक सञ्जाल प्रयोग गरेर घटनाबारे लाइभ जानकारी गराइन् । त्यही फेसबुक लाइभबाट यो घटना एकाएक चर्चामा आउन थाल्यो ।

नियामक निकायको चासो
अहिले यो घटनाका सम्बन्धमा सम्पूर्ण निकायले चासो देखाउन थालेका छन् । स्वयम् प्रहरी कार्यालय मात्र नभएर अदालतले पनि घटनाबारे चासो दिएको हो । यो घटनाबारे अहिले सामाजिक सञ्जाल, सञ्चार माध्यमहरु, प्रहरी तथा अदालतमा बहस तथा टिकाटिप्पणी भइरहेको छ । घटनाबारे निश्पक्ष छानबिन नभएको भन्दै परिवार तथा आफन्तहरुले १० गते सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा धर्ना दिएका थिए । त्यसपछि हिजो अर्थात् मंगलबार परिवार तथा आफन्तहरु जिल्ला सरकारी वकिलको कार्यालय विराटनगर गएका थिए । घटनाबारे आफूहरु अनभिज्ञ रहेको र आफूहरुलाई घटनाबारे जानकारी गराएकोमा सरकारी वकिल कार्यालयले सहयोग गर्ने वचनबद्धता दिएको सदिक्षाले बताइन् ।