बेलबारीः मोरङको बेलबारी नगरपालिकामा रहेको अप्सन स्पोर्ट्स क्लब बेलबारीले नगरपालिकाभित्रका खेलाडीहरुलाई लक्षित गरी खेल सामग्री वितरण र हण्डीफोर कार्यक्रम सम्पन्न गरेको छ ।

हिजो मङ्गलबार एक कार्यक्रमको आयोजना गरी क्लबले उक्त सामग्री खेलाडीहरुलाई वितरण गरेको हो । विभिन्न प्रकृतिका खेलसँग सम्बन्धित नौ सेट खेल सामग्री खेलाडीहरुलाई वितरण गरिएको क्लबकी अध्यक्ष शीतल रायले बताइन् । ब्याडमिन्टन खेलका लागि व्याड र कर्क, भलिबल, नेट, फुटबल, क्रिकेट बललगायतका सामाग्रीहरु खेल सामग्री सेटभित्र रहेका छन् । खेलाडीहरुलाई हौसला र उत्प्रेरणा दिनका लागि खेल सामग्री वितरण गरिएको क्लबकी अध्यक्ष रायले बताइन् । प्रदेश नं १ का सांसद एवम् उद्योग ,वन वातावरण तथा पर्यटन राज्यमन्त्री राजकुमार ओझाले खेलाडीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामग्री वितरण कार्यक्रमले खेलाडीहरुप्रति सम्मान र उत्साह थप्ने काम भएकोले क्लबलाई धन्यवाद व्यक्त गरे ।

राज्यमन्त्री ओझाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले हाँडी फुटाएर हण्डीफोर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उपमेयर पराजुलीले खेल क्षेत्रमा प्रशस्त सम्भावना भएर पनि खेल सामग्रीकै अभावका कारण खेल खेल्नबाट वञ्चित भएका प्रतिभाशाली खेलाडीहरुलाई यस कार्यले महत्वपूर्ण सहयोग पुगेको बताइन् । क्लबकी अध्यक्ष शीतल रायको अध्यक्षतामा सञ्चालित कार्यक्रममा हण्डिफोर प्रतियोगितामा प्रथम हुनेलाई ३०००, दृत्तीयलार्ई २५०० र तृतीयलाई २००० नगद पुरस्कार र सम्मानपत्रले सम्मान गरिएको थियो ।