इटहरीः आज प्रदेश १ सहित वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाद्धारा जारी बुलिटेनमा उल्लेख गरिएको छ ।
आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि पश्चिमी वायुको प्रभाव नेपालमा छ । तराईका भू–भागमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्नेक्रममा छ ।
आज राति सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।