इटहरीः पछिल्लो समय कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन को संक्रमण तिब्र गतिमा बढ्दै गएपछि सरकारले सुनसरी सहित देशभरका ९ जिल्लालाई रेड जोनमा राखेको छ । हिजो मात्रै मोरङमा २२७, सुनसरीमा १२९, झापा ११६ संक्रमित थपिएका थिए ।
ती ९ जिल्लामा संक्रमितहरुको संख्या ५ सय बढी भएकाले स्वास्थ्य मापदण्ड अनुसार रेड जोनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवान, कास्की, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा झापा, धनुषा, पर्सा, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, बाँके र दाङ छन्। शून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ।