इटहरीः अमेरिकी फौजी किराले यसपालि पनि मकैमा आक्रमण गर्न सुरु गरेको छ ।सुनसरीको भोक्राहानरसिंह गाउँपालिका लगायतका क्षेत्रमा फौजी किराले मकैबाली नष्ट गर्न थालिसकेको किसानले बताएका छन् ।

गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका धेरै किसानले यसपाली मकै लगाएका छैनन् तथापि थोरै संख्यामा लागेको मकैमा पनि फौेजी किराको प्रकोप बढ्न थालेको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँ बेसिजनमा पनि करिब ३ सय विघा जमिनमा मकै खेती हुने गरेको छ । कृषकहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले गाउँका विभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

ब्लक क्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ । यहाँ स्थानीयका अलावा अन्यत्रका व्यवसायीहरुले जग्गा भाडामा लिएर पनि मकै खेती गर्ने गरेका छन । कतिपयले त वर्षमा तीनै बाली मकैनै लगाउने गरेका छन ।व्यवसायिक किसानहरुलाई अहिले फौजी किरा र गवारो किराको प्रकोपका कारण ठुलो क्षति व्यहोर्नु परिरहेको छ ।

यसैबर्षबाट मकै खेति सुरु गरेका स्थानीय युवा शंकर मेहता यसपाछि ठुलो पछुतोमा छन् । मेहताले यसपछि पहिलो मकै खेती गरेका थिए । मकैमा फौजी किराको संक्रमणका कारण खर्च पनि उठाउन नसक्ने अवस्थामा आएको उनको भनाई छ । स्थानीय कृषि फर्मको सल्लाहामा औषधी गरिरकेको भएपनि औषधीले काम नगरेको मेहताको भनाई छ ।

3-1

भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का चन्दन मेहताले खेतमा मकै लगाएको दुई महिना एक हप्ता भया तर यो छोटो अवधिमै उनले ५ पटक विषादी छरिसके ।करिब १० कट्ठा जमिनमा मकै लगाएका उनलाई अहिले खर्च नठ्ने तनाव छ । गत वर्ष ७ हजार खर्च गरेर लगाएको मकैले १८ हजार रुपैयाँको आम्दानी दिएको थियो ।

मकैमा फौजी किरासँगै ग्बारोको असर पनि उत्तिकै भएको किसानहरुको भनाई छ ग्बारोले मकैको विरुवा सुक्ने, ओइलाउने समस्या देखिएको स्थानीय किसानले बताए ।जुटबाली अनुसन्धान कार्यालय इटहरी, सुनसरीका कृषि विज्ञ तथा कार्यालय प्रमुख तिर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि शाखाका प्रविधिक सहायक रेनुका चौधरी सहितको टोलीले भोक्राहा नर्सिङ्ग गाउँपालिकाको मकैबाली अनुगमन गरेका छन् ।

अनुसन्धानको क्रममा टोलीका टिमले खेतमा अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइव्रिड जातका मकैबालीको अनुगमन गरेका थिए । किसानहरुले अघिल्लो बर्ष फौजी किराले धेरै सताएपछि यसपाला अर्कै बाली लगाएका छन् । सुनसरी जिल्लामै भोक्राहा नरसिंह गाउँपालिकाको मकै बाली राम्रो हुने ठाउँ हो । किराको विषादी समयमै नपाउँदा र अन्य विषादीले काम नगर्दा किसान आजित बनेका थिए ।