इटहरीः नेपाल सरकारले अनिवार्य गरेको राष्ट्रिय परिचय पत्रको तथ्याक संकलन गर्ने काम सुनसरी जिल्लामा ५ वडा पालिकामा अभियानको रुपमा भइसकेको र ४ वटामा काम भईरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले बताएको छ ।

आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गर्दै सुनसरी जिल्ला प्रशासनले फागुन महिनासम्ममा सुनसरीका इनरुवा नगरपालिका सहित कोशी गाउँपालिका, हरिनगरा गाउँपालिका, देवानगन्ज गाउँपालिका र भोक्राहानरसिंह गाउँपालिकामा डाटा संकलन भएको बताएको छ ।

 

प्रशासनले इनरुवा नगरपालिकाका १० वटा वडाबाट ३० हजार ३०३ जना, कोशी गाउँपालिकाका ८ वटा वडाबाट २१ हजार २७५ , हरिनगरा गाउँपालिकाका ७ वटा वडाबाट २० हजार ४३३ , देवानगंज गाउँपालिकाका ७ वटा वडाबाट १८ हजार २६२ र भोक्राहा नरसिंह गाउँपालिकाका ८ वटा वडाबाट १७ हजार ५४८ जनाको डाटा संकलन भएको बताएको छ ।

फागुन ३० गते सम्मको तथ्यांक अनुसार जिल्ला प्रशासन आफैले  १७ हजार ३२७ जनाको डेटा संकलन गरेको छ भने कुल १ लाख २५ हजार १४८ जनाले सुनसरी जिल्लाबाट राष्ट्रिय परिचय पत्रको लागि विवरण भरिसकेको बताएको छ ।

सुनसरी जिल्लाका बर्जु र  गाउँपालिका, गढि गाउँपालिका र दुहवी नगरपालिकामा डेटा संकलन गर्ने कार्य जारी रहेको र रामधुनी , बराहाक्षेत्र नगरपालिका र धरान र इटहरी उपमहानगर क्षेत्र डेटा संकलन गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव द्धारा हस्ताक्षर गरिएको विवरणमा उल्लेख गरिएको छ ।