इटहरीः मोरङको लेटाङमा आइतबार प्रर्दशनकारीको आक्रमणबाट ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ । विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रदेश प्रहरीले अन्तिम सलामी अर्पण गरेको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार बिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए ।

प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिवारले शव लिएर गएको छ । उनको अन्त्येष्टि उदयपुरमै गर्ने तयारी छ ।उर्मिला २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरकी थिईन् । १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङ पुगेको थियो ।

शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै पुगेर यौन दुव्र्यवहार गरेको विषयमा तनाव हुँदा प्रदर्शनकारीको आक्रमणबाट श्रेष्ठको मृत्यु भएको थियो । उनको घाँटीमा धारिलो हतियारबाट आक्रमण भएको थियो । यता प्रहरीमाथि आक्रमण गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।