प्रकाश बन्जारा /नमिन ढकाल
इटहरीः प्रदेश एकको मुख्य केन्द्रको रुपमा विकास हुँदै गएको इटहरीमा लगभग आधा करोड भन्दा मंहगो फुटवल प्रतियोगिता हुने भएको छ । यो प्रतियोगितालाई इटहरीका लागि मात्रै नभई प्रदेश १ कै गौरवको रुपमा पनि लिइएको छ ।
इटहरीमा यहि चैत्र १९ गतेदेखि २६ गते सम्म सुरु हुने बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा लगभग ५४ लाख पन्ध्र हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेका छन् ।

गोल्डकपको बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक राष्ट्रिय जागृती क्लवले यसपालाको खेलमा धेरै भन्दा धेरै दर्शकलाई खेलको मज्जा दिनेगरी इटहरी रंगशालामा आमन्त्रण गरेका छन् ।

यस पटक देखी दर्शकहरूले भिआइपी प्याराफिटमा बसेर गोल्डकपको मज्जा लिन पाउने भएका हुन् । यस पटक सुविधा सम्पन्न प्याराफिट सहितको रङ्गशालामा दर्शकहरूलाई थप सुविधा दिन लागि परेको आयोजकको दाबी छ ।

पत्रकार सम्मेलनमा आयोजकले खेलको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । इटहरी रङ्गशालामा हुने प्रतियोगितामा दुई विदेशी सहित ८ टिमले सहभागी जनाउने गोल्ड कप प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । जसमध्ये मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, झापा ११, मोरङ ११, आयोजक राष्ट्रिय जागृति क्लब, न्यूरोड टिम काठमाडौँ, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत रहेका छन् ।

कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले सात लाख पाउनेछन् भने उपविजेताले तीन लाख पचास हजार पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीले यमाहाको फ्यासिनो स्कुटर र उदयीमान खेलाडीले ४० इन्चको एलइडी टिभी पाउने आयोजकले जनाएको छ । हरेक दिन म्यान अफ द म्याचमा उत्कृष्ट खेलाडीले पन्ध्र हजार नगद समेत पाउने आयोजकले बताएको छ । यसपटकको खेलको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट रहेको छ ।