इटहरीः भारतमा कर छली प्रकरणमा मुछिएर नेपालमै ठुलो स्टिल उद्योग चलाउँदै आएकी उद्योगी आरती सिंघल भारतबाट पक्राउ परेको समाचार बाहिर आएको छ ।
भारतबाट प्रकाशित हुने इकोनोमिक्स टाईम्स अफ इण्डियाले जनाएअनुसार नेपालकै ठुलो स्टिल उद्योग विराटनगरको आरती स्ट्रिप्सका संचालिका आरती सिंघललाई गत हप्ता मार्च २१ तारिख भारतको एण्टी फ्रड अफिसरले पक्राउ गरेको हो ।

भारतमा सञ्चालन भएको भुषण पावर एण्ड स्ट्रिप्सकी उपाध्यक्ष रहेकी सिंघलविरुद्ध भारतको एण्टि फ्रड डिपार्टमेन्टले सन् २०१९ मै पक्राउ पुँर्जी जारी गरी खोजी गरिरहेको थियो । तथापी आरती सिंघल भने आफ्ना पति संजय सिंघलको साथमा नेपालमा लुकेर बसिरहेकी थिइन् ।भारतमा अर्बौ रुपैंया ठगी र कर छलीमा मुछिएपछि नेपाल आएर विराटनगरमा आरती स्ट्रिप्स नामको उद्योग नै स्थापना गरी बसेको पाइएको छ ।

सिंघलले भूषण पावर डुबेपछि भूषण पावरको अर्बौ रुपैंया पैसा गैरकानुनी बाटो बाट नेपाल ल्याएर विराटनगरमा देशकै ठूलो स्टिल उद्योग आरती स्ट्रिप्स स्थापना गरी संचालनमा ल्याएको भारतीय अनुशन्धान अधिकारीलाई उधृत गर्दै इकोनोमिक्स टाइम्सले जनाएको छ ।

सन् २०१९ मा सिंघल सँगै २८५ जना विरुद्ध कर छलीको आरोप लागेको थियो ।यसअघि भारतीय प्रहरीले आरतीका पति संजय सिंघललाई पनि ९० दिन पक्राउ गरेर मुद्दा चलाएको थियो । संजय र उनकी पत्नी आरतीका विषयमा भारतीय सरकारले सरकारी अनुमति विना विदेश जान रोक समेत लगाएको थियो ।
भारतीय सरकारी निकायको आदेश अवज्ञा गरी नेपालमा आएर लुकुछिपी बस्दै आएका उनीहरुलाई सो सरकारी निर्देशनको अवज्ञा गरेको समेत अभियोग लागेको बताइएको छ ।