इटहरीः आगामी आर्थिक वर्षको संघीय सरकारको बजेटमा आफूअनुकूल संशोधन गराउन नसकेपछि विराटनगरका उद्योगी तथा व्यापारीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

यसअघि गर्दै आफूहरुले गराएको ध्यानाकर्षणमाथि सरकारले सुनुवाइ नगरेको भन्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको बताउने उद्योगी तथा व्यापारीहरुले आज विराटनगरकै गोकुवा चौकमा सडक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ मा आबद्ध उद्योगी व्यवसायीका साथै कर्मचारी युनियन तथा श्रमिकहरूको उपस्थिति रहेको थियो । सरकारले बजेटमार्फत् सीमित उद्योगीको हित हुने र अन्य उद्योगीलाई धरासयी बनाउने नीति लाद्न लागेको आन्दोलनमा सहभागीहरुको जिकिर छ ।

त्यस्ता पूर्वाग्रही प्रावधानहरु संशोधन हुनुपर्ने माग उनीहरुले अगाडि सारेका छन् । वर्तमान अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै शहरका विभिन्न भागको परिक्रमा गरी गोकुवा चौकमा आएर प्रदर्शन कोणसभामा परिणत भएको थियो । अर्थमन्त्रीको राजीनामा माग गरेका व्यवसायीहरु आफूहरुको हितमा कुनै सक्रिय भूमिका नखेलेको भन्दै उद्योग वाणिज्य महासंघविरुद्ध समेत नाराबाजीमा उत्रिएका छन् । आफ्ना मागहरुको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको अडान छ ।