इटहरीलाई आधुनिक नमुना नगरपालिका बनाऔं

  • मंसिर २६, २०७५
  • ४९९ पटक पढिएको
  • मानध्वज मोक्तान
alt

२०२७÷०२८ सालदेखि नै इलामबाट धरान, विराटनगर र काठमाडौं आवतजावत गर्दा मैले इटहरी पार गरेर जाने आउने गर्नुपथ्र्यो । इटहरी चोकमा महेश्वर सुब्बाको एउटा काठको घर थियो । छेउमा ससना टिनका छाप्राहरू थिए । हाल उपमहानगरपालिका कार्यालय रहेको ठाउँमा सानो पोखरी र रुखहरू थिए ।

हेर्दाहेर्दै आज इटहरीको रूप बदलिएको छ । देशमा गणतान्त्रिक व्यवस्था आएको छ । ३ तहका सरकार निर्माण भएका छन् । अधिकार सम्पन्न स्थानीय सरकार पनि बनेको छ । तालतलैया, बुढासुब्बा, पञ्चकन्या, वराहक्षेत्र र भेडेटारजस्ता धार्मिक र पर्यटकीय स्थलहरू इटहरीको शिरमा रहेका छन् । सङ्गीतको क्षेत्रमा सङ्गीत साधना प्रतिष्ठान रहेको छ ।

के छैन इटहरीमा ? अब इटहरीलाई के कस्तो बनाउने ? इटहरी क्षेत्रमा विभिन्न विज्ञ महानुभावहरू, प्रशासक, इञ्जिनियर, प्रोफेसर लगायत अनेकौं विद्वानहरू हुनुहुन्छ होला ? इटहरीलाई कस्तो शहर बनाउने सबैले आ–आफ्नो दृष्टिकोण राख्न सक्नुपर्ने बेला भएको छ ।

यसै सन्दर्भमा डेनमार्कका अञ्जा उर्ज प्रोफेसरले भनेको कुरा सम्झिन्छु । उनी भन्थे, एउटै टोलका मान्छे एउटै कार्यालयमा काम गर्दा आधा घण्टाको कफी बे्रकमा १५ मिनेट चाहिँ आफ्नो टोललाई अझ कसरी विकास गर्ने भन्नेबारे छलफल गर्दछन् रे । अनि पो देश विकास हुन्छ । हाम्रोमा त्यस्तो सामुहिक रूपले केही गरौँ न भन्ने भावना नै छैन । बरु कति सकिन्छ अरुको उछितो काट्ने योजना पो बनिरहेको देखिन्छ, सुनिन्छ र हुने गरेको पाइन्छ ।

स्थानीय सरकारका मेयर, उप–मेयर र अन्य पदाधिकारीहरू सबैको नगरको सम्पूर्ण पूर्वाधार विकास निर्माणको जिम्मेवारी र उत्तरदायित्व त हुँदै हो तर यसो गर्दा कसो होला भन्ने आफ्नो दृष्टिकोण त राख्न सक्छौं नि ? त्यसो गरे समग्र इटहरीको विकास नहोला ? सौन्दर्य नबढ्ला ? व्यापार नबढ्ला ? जे पनि नगरपालिकाले गर्ने हो भन्ने मानसिकतामा परिवर्तन ल्याउन आवश्यक छ ।

आफ्नो स्वार्थमा बाधा पुग्दामात्र नगरपालिका घेर्ने वा गेटमा गएर भाषण गर्ने र आधारहीन आलोचना गर्ने बानी अब हटाऔं । इटहरीको समग्र विकास भनेको कुनै एउटा राजनीतिक दलको मात्र होइन । सम्पूर्ण जनताको लागि र इटहरीको भविष्यका लागि हो भन्ने कुरा महसुस गरौं ।

सडक फराकिलो हुनु सरकारमा भएको दलको मात्र होइन त्यो विकासको मेरुदण्ड हो । एउटा राम्रो अस्पताल र विशेषज्ञ डाक्टरहरू भएको अस्पताल इटहरीको आवश्यकता हो । त्यसो हुन सके पूर्वी पहाडका बिरामीहरू धरान, विराटनगर र सिलिगुडी दौडाउनुपर्ने थिएन । यसतर्फ समयमा नै सोचेर लगानीी गर्दा लगानी खेर जाने छैन । होटल लजहरू पनि चलिरहेका मात्र छन् । गुणस्तरीय छैनन् । यसतर्फ पनि होटल लजहरूको स्तर उकास्ने काममा सञ्चालकहरूको ध्यान पुगोस् ।

चोकमा ट्राफिक व्यवस्थापन कसरी गर्ने ? सडकमा पसल राख्नेहरूलाई कसरी व्यवस्थापन गर्ने ? बसपार्कलाई अझ व्यवस्थित र आधुनिक किसिमले विकसित देशमा चलाएझैँ गरी चलाउँदा बसपार्कको सौन्दर्य पनि बढ्ने छ ।
जुनसुकै शहरको आधुनिक विकासका लागि पहिलो शर्त भनेको सौन्दर्य हो । यसको आधुनिकीकरण र दीर्घ व्यवस्थापन नै त्यस क्षेत्रका मानिसहरूको सभ्यताको परिचय हो । शहर सफा गर्ने कुरा मानिसका मनहरूको सफाइ गर्नु पनि हो । आफ्नो घरको फोहोर बाटोमा र सडकमा फाल्नु फोहोर व्यवस्थापन होइन । शहर सफा हुनु आफैँ सफा भएसरह मानेर फोहोर व्यवस्थापनमा विशेष निगरानी बढाउनु र निश्चित स्थानमा मात्र फोहोर व्यवस्थापन गर्नु नागरिकको कर्र्तव्य पनि हो भन्ने कुरा कसरी सबैलाई बुझाउन सकिन्छ होला ?

सकारात्मक सोचले इटहरीलाई सफा, सुन्दर र हरियाली शहरको रूपमा कल्पना गरेर प्रयास गरौँ न । शहर किन बन्दैन ? सकारात्मक सोचको धारणाले इटहरीका सबै क्षेत्रको विकासमा सम्भावना बोकेको छ । व्यापार बढ्छ । मानिसको आवागमन बढ्छ । लगानीका क्षेत्रहरू विकसित हुन्छन् । इटहरी बाहिरका लगानीकर्ताहरूलाई इटहरीमा लगानी गर्ने इच्छाशक्ति मौलाउँछ ।

सिंगापुर कसरी बन्यो ? पहिले कस्तो थियो र किन सिंगापुर आज हरेक क्षेत्रमा विश्वमा नै चर्चित छ भन्ने बुझ्न सिंगापुरका स्व. प्रधानमन्त्री लिक क्वानयुको पुस्तक पढौं । सबै मिली नगरप्रमुखउप–प्रमुखलाई पूर्वाधार विकासका काम गर्न प्रेरीत र प्रोत्साहित गरौँ । यो ५ वर्षको अवधिमा इटहरी आधुनिक इटहरी बन्छ ।

सञ्चारकर्मीले ट्याङ्ग्रा खोलामा बोट चलाउँदा खोलामाथिको पुलमा कफी सपको कल्पना गर्नु सुन्दर र सम्भावनाबोकेको विषय हो । बुढी खोलाको किनारै किनार दुहबी सम्म सडक निर्माणको कल्पना गरौं । सडकको छेउछाउ स–सना पसलहरू चल्छन् । बाटोको दुरी घट्छ । नदी नियन्त्रण भएर हजारौँ बिघा जमिन निस्कन सक्छ । ट्राफिक अस्तव्यस्तता कम हुन्छ । यस्ता विषयहरूमा स्थानीय सरकारले पनि समग्र नगरको विकासको लागि योजना बनाएर प्रस्तावहरू आह्वान गर्न उचित हुन्छ ।

धेरै मानिसहरू व्यक्तिगत जग्गा दलाली गर्न दौडधुप गरेको देखिन्छ । तर केही नयाँ र ‘इनोभेटिभ’ काम गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन । चीनका राष्ट्रपति सिजिन पिङले आफ्नो पुस्तक ‘द गभर्नेस अफ चाइना’मा कडा परिश्रम नै सफलताको पथ हो भनेका छन् ।
हामी इटहरीवासी सबै मिली स्थानीय सरकारलाई काम गर्न प्रोत्साहन गरौं । अनावश्यक अड्चन र अवरोध नगरौं । व्यक्तिगत स्वार्थहरू नजोडौं । उसको पालो या मेरो पालोमा भन्ने भावना संस्थागत गरौं । त्यसैगरी स्थानीय सरकारले पनि आफ्ना योजनाहरू पारदर्शी बनाएर अगाडि सारौं । यसरी जुट्यौं भने इटहरी नगरलाई आधुनिक शहर बनाउन सकिँदैन र ?

अबको राजनीति पनि सिद्धान्तको मात्र नभई बीपीले भनेझैँ व्यावहारिक हुनुपर्दछ । स्थानीय सरकारले पनि सबैको भावनालाई समेट्न सक्नु पर्छ । अनि हेरौं ५ वर्षमा इटहरी एउटा नमुना नगरपालिका, आधुनिक शहर र भविष्यनिर्माणको शहर कसरी बन्दैन ?

सबैले प्रण गरौं । सकारात्मक सोच र सामुहिक भावना, विवेक र क्षमताले सहयोग गरौं । नगर प्रमुख र उप–प्रमुखको बाहिरी कारण, आपसी असमझदारीले अन्ततः सम्पूर्ण काममा अवरोध खडा हुँदा ५ वर्षको अवधिमा केही काम गर्न नसके पार्टी र आफ्नो छवि पनि बिग्रन सक्ने सम्भावना रहन्छ । स्वयम् आफ्नो अवस्था पनि राजनीतिकविहीन हुन सक्दछ । यसर्थ उपल्लो तहका नेताहरूले भएका असमझदारीलाई हटाई काम गर्ने उत्साह दिनुपर्छ । चिया पसलमा खासखुस गर्ने, कुरा काट्ने, फेसबुकमा आलोचना लेख्ने कुराले कसैको हित गर्दैन ।

मैले इटहरीको समृद्धि देखेको छु । इटहरीका जननिर्वाचित पदाधिकारीहरू धेरै अवसर बोकेका क्षेत्रमा निर्वाचित बनेका छन् । इटहरी विकासको सम्भावना बोकेको सुगम उपमहानगरपालिका हो । यो शहर पूर्वको द्वार हो ।
इटहरी हुँदै सबै सम्भावनाहरू आवतजावत गर्दछन् त्यसलाई समाउन सक्नु पर्दछ । इटहरीको आधुनिक दीर्घकालीन विकासका लागि आफूभित्रको अहम्तालाई जनहितको लागि त्यागेर हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । त्यसो गर्न सके इटहरी शहरले नेपालकै विकसित र सबै नेपालीहरूले मष्तिकमा राख्ने शहरको रूपमा भविष्य बोकेको छ । प्रदेश नं. २ ले कुरै भए पनि केही गर्ने जमर्काे गर्दै छ । प्रदेश नं. ३ ले १५ वर्षे योजना सार्वजनिक गरिसकेको छ । प्रदेश नं. १ चाहिँ अचल भएर बसेको छ ।

सारांशमा भन्दा विकासका लागि दृष्टिकोणमा प्रष्टता ल्याउन आवश्यक छ । कार्यान्वयन मा दृढ इच्छाशक्तिको खाँचो छ । जिम्मेवारीमा बसेका सबैले आफूलाई इटहरीको विकासका लागि जनताहरूको सम्भावना बोकेको जिम्मेवार पदाधिकारी हुँ भन्ने कुरा बुझ्न सक्नुपर्छ । त्यसो भए मात्र इटहरीको विकास, सम्भावना र समृद्धिलाई सम्भव तुल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस

प्रदेश १ को हजार बेडको कोभिड अस्पतालको छैन पत्तो ,नागरिक केयर सेन्टर निर्माणमा पनि ढिलासुस्ती

विराटनगरः प्रदेश १ सरकारले बनाउने भनेर घोषणा गरेको एक हजार बेड क्षमताको कोभिड १९ अस्पालको अझै पत्तो ...

नेकपामा देखिएको विवाद हटाउन महाधिवेसन आवश्यक छः प्रेस संगठन इन्चार्ज गौतम

संखुवासभाः नेकपामा केन्द्रिय कमिटि सदस्य तथा प्रेस संगठनका इन्चार्ज एवम् प्रतिनिधिसभा सदस्य राजेन्द् ...

हत्या गरेपछि अपहरणको नाटक, मृतककै नम्बरबाट फिरौती माग

इटहरीः मसिंर १० गते सुनसरीको दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी दिनभर घरमै व्यस ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved