विराटनगरः मुख्यमन्त्री शेरधन राईले प्रदेश एकको नाम राख्ने बारे सहमतिमै होल्ड (थाती) राखिएको बताएका छन् । सरकार गठन भएको डेढ वर्ष बितिसक्दा समेत प्रदेशको नाम राख्न हतार नदेखिएको बारे राईलाई सोधिएको प्रश्नमा सहमतिबाटै अघि बढ्न चाहने जवाफ दिए ।
‘राजधानीको बारेमा सबैसँग छलफल र परामर्श लिएरै निर्णय लिइएको हो’ मन्त्री राईले भने –‘प्रदेश सभामा सहभागी सदस्यहरू बिचको छलफलले नामका लागि पर्याप्त छलफल आवश्यक देखिएको हुँदा सहमतिमै होल्ड गरेका छौँ ।’

उनले सकेसम्म छिटो नामको विषय टुुँग्याउने सोचेको बताए । तर कति समय लाग्ने भन्ने चाहिँ उनले खुलाएनन् । भने– ‘हामी औपचारिक र अनौपचारिक छलफलमा छौँ, नामको विषयमा पनि हामी मतामत गरेर जान चाहँदैनौँ ।’
मन्त्री राईले प्रदेश एकको संसद्मा सहभागी भएका दलहरू बिच समन्वयकारी भूमिका खेल्न सक्ने सकारात्मक सोच रहेका कारण समझदारीमै सही निर्णय आउने विश्वास दिलाए ।