उर्लाबारीः बक्राहा खोलामा आएको बाढीले कटान तीव्र पारेपछि स्थानीयको नेतृत्वमा भएको अस्थायी तटबन्ध तथा च्यानलाइजको रकम भुक्तानी नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

स्थानीयवासीले सोमबार उर्लाबारी–८ सन्थाल टोलको बक्राहा खोलामा पत्रकार सम्मेलन गरी विपतका बेला गरिएको तटबन्ध र च्यानलाइजको रकम निकासाका लागि कुनै चासो नदिएको भन्दै आक्रोश पोखेका हुन् ।

स्थानीय सरकार प्रमुख, प्रदेश सांसद र सङ्घीय सांसदसमेतले विपतका बेला काम गर्नू पछि रकम निकास हुन्छ भन्दै आश्वासन दिएको तर, अहिलेसम्म रकम निकास नहुँदा समस्यामा परेको भन्दै स्थानीयबासीले सहयोगी हातहरूलाई सहयोगका लागि अपिल गरेका छन् ।

च्यानलाईजको रकम उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले दिने आश्वासन दिएका थिए भने प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले बाँसको पाइलिङको खर्च कोशी तटबन्धमार्फत् उपलब्ध गराउने आश्वासन दिएको उपभोक्ता समितिका अध्यक्ष नारायण बस्नेतले बताए ।

जनताको हितमा काम गर्छु बोलीले भन्ने तर, व्यवहारमा अर्कै रूप देखाउने गरेको भन्दै उनले आक्रोश पोखे । तटबन्ध र च्यानलाइजको क्रममा १४ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको र हालसम्म एक रुपैयाँ निकासा नभएको उनको भनाइ छ ।

‘विपतको बेला भएको कामको त रकम दिन यस्तो गरिन्छ’, उनले भने, ‘जनतालाई ललिपप देखाएर कहिलेसम्म झुक्याउनु हुन्छ ?’ तीनै तहका सरकारका प्रतिनिधिबाट जनताको हितमा काम नहुने निष्कर्षमा पुगेको उनले बताए ।

‘विपतका नाममा छुट्टिएको रकमले ह्युमपाइप खरिद गर्ने तर, करोडौंको क्षति रोक्न भएको कामको रकम निकासा नगर्ने’, उनले प्रश्न गरे, ‘जनताको खुनपसिनाबाट आएको एक रुपैयाँ भष्ट्रचार गर्दिनँ भन्ने अनि कति जनताको हितमा काम भयो भन्ने चाहिँ नखोज्ने ?’

त्यस्तै, स्थानीय इन्द्र लामाले पनि तीन सरकारका प्रतिनिधि निकम्मा बनेको बताए । जनताको हितमा भन्दा पनि आफ्नै हितमात्र सम्झिने जनप्रतिनिधिहरूको हालिमुहाली रहेको उनको भनाइ थियो ।

उनले सरकारले तटबन्धको रकम निकासा नगरेपछि बाध्य भएर देशविदेशमा रहेका नेपालीहरूलाई सहयोगको अपिल गरेको बताए । सोमबार भएको भेलाले स्थानीय युवा समाजसेवी नारायण बस्नेतको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । संयोजक बस्नेतले जनताबाट उठेको रकम कतै हिनामिना हुन नदिने र तटबन्धमा लागेको खर्च व्यवस्थापन गर्ने जनाए ।

bansko chanal  (1)