इटहरीः सुन्दरहरैचा–४ मोरङका रोशन अधिकारी बाइक पार्किङ गरेर कपडा पसलमा सामान किन्दै थिए । त्यही बेला ट्राफिक प्रहरीले उनको हेलमेट निकालेर लग्यो । आफू एकछिन मात्र रोकिएको भन्दै अधिकारीले प्रहरीलाई हेलमेट फिर्ता गरिदिन आग्रह गर्दै थिए ।

तर प्रहरीले उनको कुरा सुनेन । ‘अफिसमा आएर जरिवाना तिर्ने अनि हेलमेट लिएर जाने’ ट्राफिक प्रहरीको जवाफ आयो । त्यो दिन उनले साथीसँग हेलमेट मागेर काम चलाए । भोलिपल्ट पहाड खोटाङ जानुपर्ने भयो । ४ दिनसम्म उनी खोटाङमै अलमलिए ।

४ दिनपछि अर्थात् साउन २ गते उनी प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरी पुगे । शुरुमै उनले हेलमेट लिन आएको बताए । एकैछिन पर्खन प्रहरीले अनुरोध गरे ।

केही छिनपछि हेलमेट थुपारेको ठाउँमा हेर्न प्रहरीले अह्राए । उनले सबैतिर हेलमेट खोजे । तर कतै पनि आफ्नो हेलमेट पाएनन् ।
‘तपाई ढिलो गरी आउनुभएकाले कतै परेको होला’ भन्ने प्रहरीको जवाफ आयो । निकै समय उनले पर्खिए । ड्युटीमा खटिएका प्रहरीले उनलाई गोदामतिर लिएर गए । अत्यन्तै अव्यवस्थित अवस्थामा हेलमेट लगायत अन्य सामग्री गोदाममा थुपारिएका थिए । त्यहाँ पनि उनको हेलमेट थिएन ।

१० दिन अगाडि मात्र किनेको नयाँ हेलमेट हराएकोमा दुःखी थिए अधिकारी । ‘सर हेलमेट दिनुपर्यो,’ ट्राफिक प्रहरीसँग पुनः आग्रह गरे । तपाईंको हेलमेट साटियो होला अर्को लिएर जानुस् बरु जरिवाना मिनाहा गर्दिउँला, प्रहरीको जवाफ आयो ।

आफू जरिवाना छुट लिन होइन हेलमेट लिन आएको भन्दै उनी खाली हात फर्किए । पैदल बाटोमा बाइक रोकेको भन्दै प्रहरीले लगेको उनको हेलमेट ट्राफिक प्रहरी कार्यालयबाटै हराएको छ । अब उनले नयाँ हेलमेट किन्नुपर्ने बाध्यता बनेको छ । ट्राफिक प्रहरी कार्यालयको व्यवस्थापन चुस्त हुन नसक्दा अधिकारीजस्ता सेवाग्राहीले दुःख पाइरहेका छन् ।