काँकरभिट्टाः चाडपर्व शुरु भएसँगै भारतका विभिन्न ठाउँमा कामका लागि गएका नेपाली फर्किने क्रम शुरु भएको छ ।

नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर नेपाल प्रवेश गर्ने नागरिकको लागि काँकरभिट्टामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अन्य समयको तुलनामा चाडपर्वको समयमा मानिसको आवतजावत बाक्लो हुने तथा घर छाडेर कमाउनका लागि विदेश गएका आआफ्नो घर फर्किने गरेका छन् ।

चाडपर्वमा घर फर्किने क्रम शुरु भएपछि सीमामा ठगिने, लुटिने आपराधिक घटना हुने हँुदा यसको समाधानको लागि मेचीनगर— ६ स्थित काँकरभिट्टा नाकामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मले सहायता कक्ष स्थापना गरेको हो ।

दशैं, तिहार तथा छठजस्ता चाडपर्वका बेला बढी भीडभाड हुने हुँदा सीमामै नागरिक सहायता कक्ष स्थापना गरिएको नेपाली सुरक्षा अधिकारीको भनाइ छ ।

चाडपर्वका बेला भारतका विभिन्न ठाउँबाट नेपाल फर्किने नेपाली तथा नेपालका विभिन्न ठाउँबाट भारत जाने भारतीयका लागि आवतजावतमा सहज होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेलले बताए ।

नागरिक सहायता कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सीमामा समस्या नहुने उनको भनाइ छ । सशस्त्र प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेलले चाडपर्वका बखत दुवै देशका नागरिकलाई सीमामा समस्या भोग्न नदिने प्रतिबद्घता उनको थियो । रोजगारका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपाली चाडपर्वका बेला भारतबाट फर्किने र सो क्रममा सीमा नाकामा लुटिने, र दुव्र्यवहार हुने गरेको छ । नागरिक सहायता कक्षमा भारतीय सीमा सुरक्षा बलको टोल फ्रि नम्बर समेत राखिएको छ ।