इटहरीः दशैंको समयमा बैंकिङ कारोबार नहुँदा असहज महसुस गर्नेको सुविधालाई ध्यान दिँदै विभिन्न बैंकले दशैंको बिदामा पनि आफ्ना शाखा कार्यालयबाट बैंकिङ सेवा दिने भएका छन् । २८ मध्ये २१ वाणिज्य बैंकले यस्तो सेवा दिने सार्वजनिक सूचना जारी गरेका छन् । त्यस्तै ४ ओटा विकास बैंकले पनि दशैंको बिदामा बैंकिङ सेवा दिने भएका छन् ।

यी हुन् दशैं बिदामा पनि सञ्चालन हुने बैंक
सरकारी बैंक कृषि विकास बैंकले दशैं बिदामा ३९ शाखामार्फत् बैंकिङ सेवा दिने जनाएको छ । ती कार्यालय बिहान १० बजेदेखि २ बजेसम्म खुला हुने तथा नगद जम्मा र भुक्तानी मात्र हुने बैंकले जनाएको छ । टीकाको दिन भने कुनै पनि शाखा नखुल्ने बैंकले जनाएको छ ।

त्यस्तै, अर्काे सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकका २२ शाखा दशैंमा खुल्ने भएका छन् । उपत्यकाभित्र ६ ओटा र उपत्यका बाहिर १६ ओटा शाखामा टीकाको दिनबाहेक बिहान १० बजेदेखि १ बजेसम्म कार्यालय खुल्ने भएका हुन् । काठमाडौंको बानेश्वर र पोखराको महेन्द्र पुल शाखा भने टीकाको दिन पनि खुल्ने बताइएको छ ।

एनआइसी एशियाका ३९ शाखा ३ घण्टा सञ्चालन हुने
शाखा बिस्तारमा आक्रामक देखिएको एनआइसी एशिया बैंकले दशैं बिदामा काठमाडौंभित्रका १० र बाहिरका २९ ओटा शाखामार्फत् हरेक दिन ३ घण्टा सेवा दिने भएको छ ।

उता, जनता बैंकले दशैं बिदामा ९ ओटा शाखा कार्यालय खोली वित्तीय सेवा प्रदान गर्ने भएको छ । बैंकले असोज १८ र १९ गते बिहान १० बजेदेखि १ बजेसम्म ती शाखा खोल्ने जनाएको हो ।

त्यस्तै, सिद्धार्थ बैंकले दशैं बिदामा काठमाण्डौ उपत्यका भित्र ४ र उपत्यका बाहिर १५ गरी १९ शाखा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने जनाएको छ ।

त्यस्तै, प्रभु बैंकले २४ शाखाबाट सेवा दिने जनाएको छ । दशैं बिदामा सो बैंकको काठमाडौं उपत्यकाभित्रका ९ उपत्यकाबाहिरका १५ ओटा शाखा खुला हुने भएका छन् । ती शाखाबाट निक्षेप जम्मा, १ लाख रुपैयाँसम्मको चेक भुक्तानी र ५० हजार रुपैयाँसम्मको रेमिट्यान्स सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । बिहान १० बजेदेखि २ बजेसम्म प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सेवा दिइने जनाएको छ । टीकाको दिन भने कुनै पनि शाखा नखुल्ने बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंकले असोज १८, १९, २० र २२ गते ७ ओटा शाखा खुला गर्ने जनाएको छ । हरेक दिन बिहान १० बजेदेखि २ घण्टाका लागि ती कार्यालय खुल्ने बताइएको छ ।

ग्लोबल आइएमई बैंकले दशैंको बिदामा उपत्यका भित्रका ४ शाखा र उपत्यका बाहिरका ६ शाखामार्फत् बैंकिङ सेवा दिने भएको छ । टीकाको दिन पनि कान्तिपथ शाखा दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म खुल्ने र अरु शाखा बिहान १० बजेदेखि १ बजेसम्म खुल्ने बताइएको छ ।

मेगा बैंकले टीकाको दिनमा कमलादी शाखा मार्फत् बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने जनाएको छ ।
बैंकले फूलपातीको दिन १५ शाखामार्फत्, सेवा दिएको जनाएको छ । महाअष्टमी, महानवमी र एकादशीको दिनमा १० शाखा कार्यालय खुल्ने जनाइएको छ ।


उता, सनराइज बैंकले दशैं बिदामा काठमाडौं उपत्यकामा ४ शाखा र उपत्यकाबाहिर १० शाखामार्फत् सेवा प्रदान गर्ने जनाएको छ । सबै कार्यालय बिहान १० बजेदेखि २ घण्टा खुल्ने र टीकाको दिन भने कुनै पनि शाखा नखुल्ने जनाएको छ ।

एनएमबी बैंकले दशैं बिदामा पनि खुल्ने ५ शाखामार्फत् २ लाख रुपैयाँसम्म नगद जम्मा र चेक सटही सुविधा उपलब्ध हुने जनाएको छ । सो बैंकले पनि टीकाको दिन भने बैंकिङ सुविधा नदिने भएको छ ।

सिटिजन्स बैंकले उपत्यकाका ६ शाखा र उपत्यका बाहिरका ५ शाखामार्फत् दशैंको बिदामा पनि सेवा दिने जनाएको छ । टीकाको दिन समेत बिहान ११ बजेदेखि २ बजेसम्म उपत्यकाको दरबारमार्ग र कुमारीपाटी शाखा खोल्ने बैंकले जनाएको छ ।

उता, स्ट्याण्डर्ड चाटर्डले १२ ओटा शाखा दशैं बिदामा पनि खोल्ने भएको छ । कुनै शाखा बिहान साढे ९ बजेदेखि र केही बिहान ११ बजेदेखि खुल्ने बैंकले जनाएको छ । यी शाखामार्फत् ५ लाख रुपैयाँसम्मको भुक्तानी, नगद जम्मा र विदेशी विनिमय सेवा पाउने बताएको बैंकले टीकाको दिन भने कुनै पनि शाखा नखोल्ने भएको छ ।

माछापुच्छ्रे« बैंकले उपत्यकाभित्र र बाहिर गरी २४ शाखा सञ्चालनमा ल्याउने तर टीकाको दिन भने कुनै पनि शाखा नखुल्ने जनाएको छ ।

त्यस्तै, हिमालयन बैंकले दशैं बिदामा ६ शाखा मार्फत् सेवा दिने भएको छ । फूलपातीको दिन दिन ६ शाखामार्फत् सेवा दिएको बैंकले महाअष्टमीको दिन ४ शाखा, र एकादशीको दिन ३ शाखा खोल्ने जनाएको छ ।

नबिल बैंकले उपत्यकाभित्र ६ शाखा र उपत्यका बाहिर १० शाखा खोल्ने भएको छ । बिहान १० बजेदेखि १२ बजेसम्म खुल्ने ती शाखामा नगद जम्मा गर्ने र भुक्तानी सेवा, नबिल रेमिट र वेस्टर्न युनियन मनि ट्रान्फरबाट विप्रेषण सेवा, तथा विदेशी मुद्रा सटही र युएस डलर प्रिपेड कार्ड जारी गर्ने सेवा प्रदान गर्ने जनाएको छ ।

बैंक अफ काठमाण्डूले टीकाको दिन पनि शाखा खोल्ने भएको छ । टीकाको दिन कमलादी शाखा खोल्ने जनाएको बैंकले अरु दिन १० शाखामार्फत् सेवा दिने जनाएको छ । यी कार्यालयबाट बचत खातामा ५० हजार र चल्ती खातामा २ लाख भुक्तानी सेवा, जतिसुकै रकम नगद जम्मा गर्नसक्ने सेवा प्रदान गरिने जनाएको छ ।

कुमारी बैंकले दशैं बिदामा टीकाको दिन बहोक अरु दिन दशैं बिदामा बिहान ११ बजेदेखि २ बजेसम्म ५ शाखामार्फत् सेवा दिने जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले उपत्यकाभित्रका १५ शाखा र उपत्यकाबाहिरका १० शाखा गरी २५ शाखा कार्यालय दशैं बिदामा सञ्चालन गर्ने जनाएको छ । उपत्यकाको दरबारमार्ग शाखा भने टीकाको दिन पनि बिहान ९ बजेदेखि १२ बजेसम्म र पुल्चोक शाखा १२ बजेदेखि ३ बजेसम्म खोलिने जनाएको छ ।

सबैभन्दा थोरै एनसीसी बैंकले २ शाखा खोल्ने
उता, दशैं बिदामा कम शाखा खोल्नेमा एनसीसी बैंक रहेको छ । सो बैंकले दशैं बिदामा न्युरोड र टेकु शाखा सञ्चालन गर्ने र टीकाको दिन भने सबै शाखा बन्द हुने जनाएको छ ।

सिभिल बैंकले दशैं बिदामा १३ ओटा शाखा खोलिने मुख्य शाखा कार्यालय आवश्यकता अनुसार टीकाको दिन पनि खोलिने जनाएको छ ।

यी विकास बैंले पनि दशैंमा ग्राहकलाई सुविधा दिने
क वर्गका बैंकजस्तै ख वर्गका पनि ४ ओटा बैंकले ग्राहकलाई दशैं बिदामा पनि वित्तीय सेवा दिने भएका छन् । लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, कैलाश विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले दशैं बिदामा पनि यस्तो सुविधा दिने भएका हुन् ।

लुम्बिनी विकास बैंकले दशैं बिदामा ५ ओटा शाखा बिहान १० बजेदेखि १२ बजेसम्म खोल्ने जनाएको छ ।

कामना सेवा विकास बैंकले दशैं बिदामा २२ ओटा शाखा कार्यालय खोली वित्तीय सेवा दिने भएको छ । ती शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने सो बैंकले जनाएको छ ।

कैलाश विकास बैंकले सातै प्रदेशका १० ओटा शाखा कार्यालय खोल्ने भएको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म ती कार्यालय खुल्ने बताइएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले दशैं बिदामा १३ ओटा शाखा कार्यालय खोल्ने जनाएको छ । बैंकका ८ ओटा शाखा कार्यालय ३ दिन र बाँकी ५ ओटा शाखा एक दिन मात्र खुला हुने जनाएको छ । सबै विकास बैंकले टीकाको दिन भने कार्यालय नखोल्ने भएका छन् ।

dasain ma khulne bank  (5) dasain ma khulne bank  (2) dasain ma khulne bank  (4)

dasain ma khulne bank  (1) dasain ma khulne bank  (1) dasain ma khulne bank  (3)