फाइल तस्बिर  

इटहरीः पछिल्लो समय पूँजीवादको फैलावटसँगै नेपाली चाडपर्वहरू पूँजीवादको चपेटामा पर्न थालेका छन् ।

ज्येष्ठ नागरिकहरूका अनुसार उहिल्यै चामलको भात खान पाइने भएकाले दशैंको ठूलो महत्व थियो । आफन्तसँगको भेटघाट, लिङ्गे पिङ, रोटे पिङ आदिका कारण दशैंको रौनक नै बेग्लै हुन्थ्यो ।

वर्षभर नधोएका कपडा खरानीमा पकाएर धुने चलन थियो । दशैंलाई ‘वर्षभरिको दुःख बिसाउने चौतारीको रूपमा लिइन्थ्यो । देखासेखी हुँदैनथ्यो । धनी गरिब सबै मिलेर दशैं एकै प्रकारले मनाउँथे । आधुनिकताले नगाँजेका पहाडी क्षेत्रमा अझै पनि यस्तो दशैं देख्न पाइन्छ ।

अहिले भने इन्टरनेटलगायत सञ्चारको पहुँचका कारण एकअर्काबीचको दूरी नजिकिएको छ । भेटघाटको महत्व कम हुन थालेको छ । नयाँ लुगा लगाउन, मासु, दहीचिउरा, केरा खान जुनसुकै बेला सहजै पाइने भएकाले पनि दशैंको महत्व घट्न थालेको छ ।

त्यस्तै, धर्म परिवर्तनको लहर गाउँगाउँसम्म पुगेपछि दशैंको महत्व कमजोर बन्दैछ । एकअर्काबीच भाइचाराको सम्बन्ध बिस्तार गर्ने पर्वको रूपमा रहेको दशैंको प्रभावकारिता घटिरहेको छ । दशैंमा मात्र नयाँ कपडा लगाउन पाउने वर्गको अन्त्य हुँदै गएको छ । हुने खानेहरूको लागि विदेश भ्रमण दशैंको प्याकेज बन्ने गरेको छ, भने गरीबहरूमा ऋणको भार बढिरहेको छ ।

दुर्गा पूजा गर्ने, सुखदुःख साटासाट गर्ने, पिङ खेल्ने, चङ्गा उडाउने, छिमेकीसँग रमाइलो गर्ने चलन विस्थापित हुँदैछ । त्यसको सट्टामा मोबाइलमा गेम खेल्ने, जुवातासमा रमाउने, विदेश घुम्न जाने, एकल परिवारमा बस्ने चलन स्थापित भइरहेको छ । यसले गर्दा समाजमा देखासेखीको भावना विकास भइरहेको छ ।

सामाजिक र सांस्कृतिक अन्तर्घुलनको पर्याय मानिने पर्वहरू आर्थिक हैसियतका आधारमा मनाइन थालिएको छ । पैसा हुनेहरूले मात्र रमाइलो गर्न पाउने अवस्था जबरजस्त सिर्जना भइरहेको छ । छिमेकी हुनेखाने प¥यो भने आफूले ऋण गरेर भए पनि उसकै दाँजोमा खर्च गर्ने परिपाटी विकास भइरहेको छ ।

आफन्तसँगको भेटघाट पातलिन थालेको छ । दक्षिणा कम दिने परिवार आफन्तबाट नै बहिष्करणमा परिरहेको छ । त्यति मात्र होइन कोसेली अनुसारको सम्मान गर्ने चलन बढ्दैछ । जसले बढी खर्च ग¥यो उसले मात्र राम्रो गरी चाडपर्व मनायो भन्ने भावनाको विकास भइरहेको छ ।

तिहारमा पैसाकै लागि देउसीभैलो खेल्न थालिएको छ । दक्षिणाअनुसारको सम्मान हाबी छ । पैसा हुनेहरू मात्र सम्मानित हुन्छन् भन्ने भान हुन थालेको छ ।

गरीबहरू ऋणमा डुबेर झन् गरीब हुने र धनीहरू लगानी गरेर झन् धनी भइरहेका छन् । सांस्कृतिक तथा सामाजिक एकताको लागि भन्दा पनि हरेक चाडपर्वहरू हैसियत देखाउने महोत्सवको रूपमा देखा परिरहेका छन् ।

विदेशबाट दाजुभाइ र आफन्त घर फर्किएको खुशीयालीभन्दा उसले ल्याएको कोसेली प्रधान विषय बनिरहेको छ । साथीभाइहरूको भेटघाट पनि पैसाले निर्धारण गरिरहेको छ । जोसँग पैसा छ उसैले मात्र जमघटको मौका पाउने संस्कार शुरु भएको छ । एउटै परिवारमा पनि कमाउने र नकमाउने सन्तानप्रतिको व्यवहारमा आकाशपातालको भिन्नता देखा पर्न थालेको छ ।

नेपाली समाजमा पूँजीवादी व्यवस्था देखा पर्न थालेसँगै संस्कार र संस्कृति पनि त्यसैबाट निर्देशित हुन थालेको छ । सामन्तवादको केही अवशेष रहे पनि पूँजीवादको बोलवाला रहेको अवस्थामा पूँजी नै सर्वश्रेष्ठ विषय बनिरहेको छ । कसको कति नजिकको सम्बन्ध भन्ने उसको आर्थिक हैसियतमा निर्भर भइरहेको छ ।

त्यसैले नेपाली समाजको चरित्रको आधारमा संस्कार र संस्कृतिहरू परिवर्तन भइरहेका छन् ।

फाइल तस्बिरहरू

teej

tihar deusi