इटहरीः नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईले वृद्धि गरी मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हो । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् रहेको जनाइएको छ । यसअघि इन्डियन आयल कर्पोरेशनले डिसेम्बर १६ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो ।

मूल्य समायोजनपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य भारतभन्दा प्रतिलिटर रु १८ रुपैयाँ ६७ पैसा र डिजेलको खुद्रा बिक्री मूल्य रु १८ रुपैयाँ २७ पैसा सस्तो हुन गएको छ ।

मूल्य समायोजनपश्चात् निगमको डिपो र बिक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौँ (थानकोट), सुर्खेत र दिपायलमा रु १११ प्रतिलिटर, पोखरा, दाङमा रु ११० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा रु १०९ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ ।

डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य काठमाडौँ (थानकोट), सुर्खेत र दिपायलमा रु १०० प्रतिलिटर, पोखरा, दाङमा रु ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीमा रु ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।