विराटनगरः भोलिबाट मर्मतका नाममा नेपालको दोश्रो ठूलो नाका विराटनगर भन्सार प्रवेशका लागि पार गर्नुपर्ने भारतको बथनास्थित मीरगञ्ज पुल पुनः ११ दिनेसम्मका लागि बन्द हुने भएको छ । यसअघि पनि मर्मत गर्ने भन्दै नौं दिन पुल बन्द गरेको भारतले भोलिबाट माघ ६ गतेसम्मका लागि सो पुल बन्द गर्दैछ ।
विराटनगर भन्सार कार्यालयका अनुसार भारतले तेस्रो मुलुकबाट सामाग्री लिएर आएका सवारीलाई मात्र वैकल्पिक सडक प्रयोग गर्न दिने अडान लिएको छ ।
‘हामीले अनुरोध गर्दा भारतीय पक्षले मर्मत गर्न बन्द गर्नैपर्छ भने,’ भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पोखरेलले भने, ‘वैकल्पिक रुट प्रयोगका लागि तेस्रो मुलुकबाट आयात हुने सामाग्रीलाई मात्र अनुमति दिएको छ ।’ मर्मतका लागि पुल बन्द गर्न लागेको भारतीय पक्षले मालवाहक सवारी साधनलाई नेपाल प्रवेशका लागि वैकल्पिक सडक प्रयोग गर्न अनुमति दिएको छैन ।
दुई पक्षीय छलफलका क्रममा भारतीय पक्षले तेस्रो मुलुकबाट आएका सामाग्रीलाई वीरपुर– भाण्टाबारी सडक प्रयोग गर्न अनुमति दिएपनि भारतबाट सामाग्री लिएर आएका सवारीलाई वैकल्पिक सडक प्रयोग गर्न अनुमति दिएको छैन । पुल मर्मतका लागि भन्दै भारतले गत डिसेम्बर १९ देखि मालवाहक सवारी साधन आवत–जावतमा रोक लगाएको थियो । एकतर्फी पुलको मर्मत सकेर भारतले २७ डिसेम्बर रातिदेखि सवारी आवागमन सुचारु गरेको थियो । लगत्तै भारतले पुनः ११ दिन बन्द गर्न लागेको हो ।
करिब तीन वर्षअघि २०७४ सालको बाढीले मीरगञ्ज पुल क्षतिग्रस्त भएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन ८ महिना लागेको थियो । सो समय वीरपुर भाण्टाबारी नाका प्रयोग गर्दै आयात–निर्यात भएको थियो । मीरगञ्ज पुल विराटनगर भन्सार नाकासँग जोड्ने एक मात्र विकल्प हो । तर भारतीय पक्षले पुलका नाममा पटक–पटक सडक बन्द गर्दै आएको छ ।
भारतीय पक्षले वीरपुर–भाण्टाबारी नाका प्रयोग गर्न आलटाल गरेपनि नेपालतर्फ भन्सार विभागले भाण्टाबारी नाका प्रयोग गर्दा सावधानी अपनाउन भन्सार कार्यालय विराटनगर र सुनसरीलाई निर्देशन दिएको छ । १० पुसमा पठाएको पत्रमा मालवस्तु बोकेका सवारी साधनलाई भन्सारसम्म ल्याउँदा स्थानीय प्रशासनसँगको समन्वयमा स्कर्टिङ गर्नुपर्ने भनिएको छ । मीरगञ्ज पुल बन्द भएपछि भाण्टाबारी नाकाबाट निकासी पैठारी गर्दा स्कटिङ गर्न विभागले निर्देशन दिएको हो । भारत तथा तेस्रो मुलुकबाट भित्रने ढुवानीका साधानलाई कोशी ब्यारेज–इटहरी–विराटनगर हुँदै भन्सार कार्यालयमा ल्याएर जाँचपास गर्नुपर्ने उल्लेख छ ।