इटहरी: कोरोना भाइरस संक्रमणबाट इटलीमा एकै दिन शनिबार (हिजो) झण्डै आठ सय मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ७९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको संख्या चार हजार ८२५ पुगेको बीबीसीले जनाएको छ ।

यस्तै एकै दिन ६ हजार ५५७ जना नयाँ बिरामी थपिएर इटलीमा संक्रमितको संख्या ५३ हजार ५७८ पुगेको छ । संक्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घर बाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको छ ।

यस्तै स्पेनमा शनिबार एकै दिन २८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको संख्या एक हजार ३७८ पुगेको छ । इरानमा पनि एकै दिन १२३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको संख्या एक हजार ५५६ पुगेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा ११२ जना, बेलायतमा ५६ र अमेरिकामा ४६ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर १३ हजार ५० जनाको मृत्यु भएको छ । भाइरसबाट विश्वभर ३ लाख ८ हजार १० जना संक्रमित भएका छन् । संक्रमित व्यक्तिमध्ये ९५ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।