तत्कालीन नेकपा एमालेका महासचिव एवं जननेता मदन भण्डारीले यो धर्ती छोडेर गएको आज २७ बर्ष भएको छ । नेपाली राजनितिको अत्यन्तै ठुलो सम्भावनाका साथ उदाएका प्रीय नेता भण्डारी आफ्नो जीवनको ४१ बर्षमै अस्ताउनुभयो । दुनियाँका क्रान्तिकारीहरुलाई समेत स्तब्ध पार्ने त्यो घटना अर्थात दासढुंगा हत्याकाण्ड २०५० साल ज्येष्ठ ३ गते नेपाली जनताका लागि अत्यन्तै दुःखद् घटनाका रुपमा स्मृतिमा ताजै छ । जो कोहीले पनि भन्न सक्छ, त्यो सामान्य दुर्घटना नभएर नेपाली कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त गर्ने दुस्साहासका साथ रचिएको एउटा षड्यन्तमूलक घटना थियो । उहाँ संगसँगै तत्कालिन एमालेका कुशल संगठक जिवराज आश्रितको पनि निधन भएको थियो ।
नेपाली कम्युनिष्ट आन्दोलनका एउटा योद्धा नेपाली राजनितिको आकाशबाट रहस्यमय बिलिन हुनुभएको, नेपालको आमूल परिवर्तन चाहानेहरुको एउटा उज्यालो साझा सपना जननेता मदन भण्डारी हामीमाझ हुनुहुन्न । जब ज्येष्ठ ३ गते आउँछ, न्यायपूर्ण सामाजिक परिवर्तनको आन्दोलन माथि बज्रपात झै लाग्ने त्यो घटनाले परिवर्तन र क्रान्तिकारीहरुलाई नराम्ररी झस्काउँछ । मदन भण्डारीको हत्या, हत्या मात्र थिएन । सिङ्गो नेपालको लोकतन्त्र, कम्युनिष्ट आन्दोलन र नेपालको सार्वभौमिकता माथिको बर्बर आक्रमण थियो । मदन भण्डारीलाई समाप्त गर्दा कम्युनिष्ट आन्दोलन समाप्त हुने र विस्तारै लोकतन्त्र र नेपालको सार्वभौमिकता र स्वाधिनतालाई समेत कब्जा गर्दै नेपाललाई विदेशी प्रतिकृयाबादीहरुको शक्तिको इशारामा नचाउने डिजाइन अन्र्तगत मदन भण्डारीको हत्या भएको कुरा तत्कालिन राजनितिक घटनाक्रम र भण्डारीका विचार व्यक्तबाट स्पष्ट बुझ्न सकिन्छ ।
मदन भण्डारी प्रत्येक क्रान्तिचेत भएका सामाजिक न्यायको लागि लड्नेहरु, क्रान्तिकारीका रोलमोडल हुनुहुन्थ्यो र उहाँको त्यो शिखर व्यक्तित्वलाई आदर्श मानेर राजनितिमा प्रवेश गर्ने क्रम हिजोदेखि आजपनि जारी छ । नेपालको नेपाली राजनितिक इतिहासमा छोटो समयमा आम देशबासीलाई आफ्नो केन्द्रमा कैद गर्नसक्ने व्यक्तित्व कमरेड मदन भण्डारीमा मात्रै थियो । एउटा नायक जो अकस्मात उदाएको थियो, जसले आफ्नो उपस्थितिले राजनितिक परिवेश नै छुट्टै बनाइदिएको थियो । इतिहासका निर्माता जनताहरु हुन् तर तिनिहरुलाई इतिहास बनाउन नेतृत्व गर्ने नायक पनि चाहिन्छ र ती नायक मदन भण्डारी हुनुहुन्थ्यो । वि.सं. २०४७ सालमा प्रजातन्त्रको पुर्नस्थापना भएदेखि वि.सं. २०५० साल ज्येष्ठ ३ गते बिचका करिब दुई अढाई बर्षको नेपाली राजनिति मदन भण्डारीको केन्द्रमा थियो र उहाँको उपस्थिति बिना त्यतिखेरको राजनिति चल्न नसक्नु पनि मदन भण्डारीको सफलता थियो र मदन भण्डारीको नायकत्वको त्यो जिवन्त प्रमाण थियो ।
विश्व कम्युनिष्ट आन्दोलन धरासायी भइरहेको परिस्थितिमा नेपालमा मदन भण्डारीद्धारा प्रतिपादित सिद्धान्त जनताको बहुदलिय जनवादको आलोकमा तत्कालिन नेकपा एमाले देशकै प्रमुख राजनितिक शक्तिका रुपमा स्थापित हुँदैथियो । वि.सं. २०४८ सालको आम निर्वाचनमा प्रमुख प्रतिपक्षी दलको रुपमा सानदार उपस्थिति जनाएको एमाले वि.सं. २०५१ को मध्यावधि निर्वाचनमा पहिलो दल बन्न सफल भयो र त्यो श्रेष्ठता मदन भण्डारीको जनताको बहुललिय जनवाद कै कारण स्थापित भएको थियो । नेपाली राजनितिमा वाक्कलामा मदन भण्डारी जत्तिको क्षमतावान, निपूर्ण व्यक्तित्व आजसम्म सायदै कोही छैन । उहाँका प्रत्यक्ष भाषण सुनेर कम्युनिष्ट भएकाहरु मात्र होइन, उहाँ बितिसकेपछि आजसम्म पनि उहाँका रेकडेर्ड भाषण सुनेर पनि कम्युनिष्ट हुनेहरुको संख्या उल्लेखनीय छ । आफ्नो अत्यन्त सुन्दर र ओझपूर्ण भाषणद्धारा जनताहरुलाई एकीकृत गरेर सामाजिक न्यायको पक्षमा कटिबद्ध बनाएर अघि बढाउन सक्ने र विरोधीहरुलाई घायल बनाउने मदन भण्डारीको कला आजपनि नया पुस्ताका राजनितिक क्रान्तिकारीहरुलाई उत्तिकै उपयोगी छ ।
मदन भण्डारी कम्युनिष्ट आन्दोलनका एकताप्रेमी नेता पनि हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनको विकासका लागि, एकताका लागि तत्कालिन समयमा विभिन्न कम्युनिष्ट घटकहरुमध्ये सबैभन्दा प्रमुख शक्ति नेकपा मालेको महासचिवका हैसियतले आफ्नो पार्टीभन्दा सानो नेकपा माक्र्सवादीसँग एकता गरेर सो पार्टीका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वको मातहतमा आफुलाई राखेर कम्युनिष्ट एकताको प्रारम्भ गर्नुभएको थियो । यसैबाट पनि प्रष्ट हुन्छ, मदन भण्डारी कति त्यागी र महान हुनुहुन्थ्यो भन्ने कुरा । अहिले जतिपनि राष्ट्रले महत्वपूर्ण उपलब्धी प्राप्त गरेको छ, त्यो जनताको बहुदलिय जनवादकै आलोक र नितिबाट प्राप्त भएका हुन र नेपाली कम्युनिष्ट आन्दोलन मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनको विकासलाई लक्ष्य प्राप्तीसम्म पु¥याउने सिद्धान्त जबजका प्रतिपादक मदन भण्डारी प्रत्येक नेपाली र विश्व कम्युनिष्टहरुका ढुकढुकी हुन ।
शान्तिपूर्ण आन्दोलन, स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै निर्वाचन मार्फत बिजय प्राप्त गरेर आम नेपाली जनताका तमाम समस्याहरुलाई समाधान गर्दै समाजवाद तर्फको बाटो देखाउदै साम्यवादसम्म पुग्न स्पष्ट भिजन सहितको जबजका निर्माता मदन भण्डारी र उहाँसँगै निधन हुनुभएका कुशल संगठक जिवराज आश्रित प्रति हार्दि श्रद्धाञ्जली ।
                                                                                                      लेखकः अनेरास्वयवियू सुनसरीका संयोजक हुन् ।