धरानः धरान उपमहानगरपालिकाका पूर्व अधिकृतलाई आफ्नै घरमा काम गर्न राखिएकी एक युवतीलाई गर्भवती बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धरान वडा नम्बर २० बाट उपमहानगरका पूर्र्वअधिकृत चक्रकुमार राईलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार स्थानीय महिला अधिकारकर्मीहरुसहितको जाहेरीका आधारमा परेपछि आइतबार साँझ प्रहरीले राईलाई उनको घरबाट पक्राउ गरिएको हो । लामो समय उपमहानगरमा जागिर खाएका उनले उमेर हदको कारण अनिवार्य अवकाश पाएका थिए ।
उनले सामाजिक विकास अधिकृतको जिम्मेवारी सम्हालेका थिए । अवकाश लिने बेला वडा २० को वडा सचिव पनि भएको प्रहरीले जनाएको छ । स्थानीय सहकारीमा आवद्ध महिला र अधिकारकर्मीहरुले जाहेरी दिएपछि राईलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
अवकाश पछि राईले धरान २० माछामारामा घर बनाएर होम स्टेको अगुवाई पनि गरेका थिए । उनले २०७५ पुष महिनादेखि एक मुसहर थरकी युवतीलाई संरक्षण दिएर काम गर्न घरमा राखेका थिए । विष्णुपादुका मेला भर्न आएकी ती युवती घर फर्कन नसकेपछि उनले संरक्षण दिएर राखेको खुलेको डिएसपी न्यौपानेले बताए । उनको पेट बढ्दै गएपछि स्थानीय महिलाहरुले सोधी खोजी गर्दा ती युवतीले राईले गर्भवती बनाएको जानकारी दिएपछि प्रहरीमा उजेरी गरेको डिएसपी न्यौपानेले बताए ।
यसबैबीच घरमा काम गर्ने युवतीलाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका राईको श्रीमतिको गए राती मृत्यु भएको छ । राईको श्रीमति राती करिब ९ बजेतिर घरमा मृत अवस्थामा भेटिएको डिएसपी न्यौपानेले बताए । प्रहरी घरमा पुग्दा खाटबाट तल घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन् । उनको शव हाल मर्चरीमा राखिएको छ । उनी राईको कान्छी श्रीमति भएको डिएसपी न्यौपानेले बताए । उनको मृत्युका बिषयमा पनि प्रहरी अनुसन्धान थालिसकेको डिएसपी न्यौपानेले जनाए ।