इटहरीः कोभिड १९ संग लड्न प्रदेश १ सरकारले प्रदेशका जिल्लास्थित अस्पतालहरुलाई आइसोलेन वार्ड सहित १०० शैय्याको क्षमतामा स्तरोन्नति गर्ने भएको छ । आज प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सो कुरा बताएका हुन् । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटर सहित आवश्यक चिकित्सक सहित जनशक्तिको ब्यवस्था समेत मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
धनकुटामा जिल्ला अस्पताललाई ६ वटा भेन्टिलेटर सहित बहु बिशिष्टिकृत प्रादेशिक शिक्षण अस्पतालको रूपमा स्तरोन्नति गर्दै लगिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नतीमा सहकार्य गरिनुका साथै कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिनेछ र स्तरोन्नतिको कार्य शुरु गरिने पनि अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
मेची अस्पताललाई कम्तिमा ६ वटा भेन्टिलेटर सहित स्तरोन्नति गरिनेछ। सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी सेवाको समेत सेवा विस्तार गर्दै लगिने प्रदेश १ सरकारले नीति लिएको छ ।
मोरङ्गको मंगलबारेस्थित ट्रमा सेन्टरलाई अत्याधुनिक उपकरण सहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास एवम् स्तरन्नोति गरिनेछ ।
एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन म्यापिङ्ग कार्यको सुरुवात गर्दै बेसिक लाइफ सपोर्टसहितको जी।पी।एस। प्रणाली सेवा शुरु गरिनेछ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गरिने प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
सर्ने र नसर्ने रोगका जोखिमहरुलाई न्यूनीकरण गरी नागरिकको गुणस्तरीय जीवनयापनको सुनिश्चितताका लागि समुदायमा आधारित स्वस्थ जीवन कार्यक्रमलाई निरन्तरता दिइनेछ। दिगो विकास लक्ष्यले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी सूचकहरु हासिल गर्न स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ।
रोग पालेर होइन फालेर बाचौंू भन्ने मान्यतालाई सार्थकता प्रदान गर्न महिलामा देखिने प्रजनन् स्वास्थ्य समस्याहरु, आङ खस्ने, पाठेघरको क्यान्सर, स्तन क्यान्सरको रोकथाम तथा उपचार व्यवस्थापनलाई सहज तुल्याइनेछ। स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका विपन्न, सीमान्तकृत, दलित, लोपोन्मुख लगायत पछाडी परेका समुदायलाई स्वास्थ्य सेवाको मूलधारमा ल्याई विद्यमान असमानतालाई अन्त्य गर्न सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ। आगामी बर्ष देखि १३७ वटै पालिकाहरुमा बहुपक्षीय पोषणको कार्यक्रम बैदेशिक सहयोग समेत परिचालन गरी लागू गरिने प्रदेश प्रमुखले प्रदेश संसदमा प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरि प्रदेशमा जेष्ठ नागरिकहरुको अनुहारमा मुस्कान छर्ने उद्देश्य सहित स्थानीय पालिकाहरुसँग सहकार्य गरी प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सबै पालिकाहरुमा संचालन गरिनेछ। स्वास्थ्य सेवा प्रबाहमा हालको बिषम परिस्थितिद्वारा सिर्जीत चुनौती सामना गर्दै स्वास्थ्य सेवा प्रबाहलाई प्रभावकारी रुपमा संचालन गर्न प्रदेश भर डिजिटल हेल्थ तथा टेलिमेडिसिन सेवाको पहुँच बिस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।