इटहरीः इटहरी भित्रका केही वडाहरुले बाहिरबाट आई क्वारेन्टिनमा बस्ने ब्यक्तिहरुबाट पैसा लिने गरेको पाइएको छ । इटहरी वडा नम्बर २ कार्यालयले बाहिरी देशबाट आई क्वारेन्टिनमा बस्नका लागि प्रति सिफारीस ४ सयका दरले रकम लिने गरेको पाइएको हो ।

इटहरी २ घर भएका सजन सुवेदी असार ८ गते बहराईनबाट सिधा सुनसरीको चतरामा आएर क्वारेन्टिनमा बसेको १४ दिन पुगेपछि उनी इटहरी घर आउने भए । सोही अनुसार घरमा कुरा गरे । सुवेदीका काका बाबुराम सुदेदीले वडा कार्यालयमा सिफारीस लिन गए । त्यहाँका कर्मचारीले सिफारीस पत्र सहित चतराबाट इटहरी आउन ४ सय लाग्ने बताएपछि उनले रकम बुझाए ।

sifaris 12

कोरोना महामरीमा सरकारले आफ्ना नागरिकलाई विभिन्न देशबाट ल्याइरहेका बेला यता इटहरी भित्रका केही वडा कार्यालयले सिफारीस बापत रकम लिएको भन्दै सुवेदीले गुनासो गरे । उनले भने ‘स्थानीय सरकार हाम्रो हो, देशका यस्तो संकट लागेको छ । आफ्ना नागरिकलाई संरक्षण गर्नु त कता हो कता उल्टै रकम लिएर जनता माथि लापरर्बाही गर्यो ।’

वडा नम्बर २ का वडा अध्यक्ष हर्कबहादुर मगरले यस विषयमा नगरसभाको बैठकबाट निर्णय भएको बताए । उनले भने ‘लकडाउन भएको केही महिना सम्म लिएका थिएनौं तर कोरोनाको संक्रमण कहिले सम्म भनेर किटान गर्ने अबस्था नरहेकाले राजस्व शुन्य हुने खतराले लिएका हौं ।’

इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले लकडाउन भएको तिन महिना अबधि सम्म रकम नलिएको तर केही दिन यताबाट लिन थालेको बताईन् ।