इटहरी : इटहरी स्थित पर्यटकीय स्थल तालतलैयामा स्तरउन्नतिको काम तिव्र पारिएको छ । इटहरी वडा नम्बर २ र ३ को सिमानामा पर्ने यस पर्यटकीय क्षेत्रमा अहिले विभिन्न प्रजातिका जनावरको मूर्ति, जेटबोट सञ्चालन गर्नका लागि पोखरीको कम्पाउण्ड वाल लगायतको काम भइरहेको छ ।

तालतलैया भित्र अहिले बाघ, हात्ती, जरायो लगायत जनावर प्रजातिका चित्र अंकित मूर्ति तथा चिल्ड्रेन पार्कमा बालबच्चाको मनोरञ्जनका लागि बिभिन्न सामग्री निर्माण भइरहेको तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले बताए ।

प्रदेश सरकारको चालु आर्थिक बजेटबाट तालतलैया विकास तथा स्तरउन्नतिको कामका लागि करिब १ करोड ५० लाख, नेपाल पर्यटन बोर्डबाट ५० लाख तथा स्थानीय श्रोतबाट निर्माण काम भइरहेको अध्यक्ष लिम्बूले बताए । सो काम सम्पन्न भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने विश्वास रहेको समितिका सदस्य तथा संचार शाखा प्रमुख लोचन पौडेलले जानकारी दिए ।

साथै तालतलैयामा आगामी बर्षबाट टापु निर्माण हुने भएको छ । प्रदेश एक सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा अहिले तालतलैया भित्र रहेको जग्गालाई ब्यबस्थित तथा स्तरउन्नतिका लागि करिब ३ करोड ५० लाख रकम समेत छुट्याएको छ । तालतलैया समितिका सदस्य पौडेलका अनुसार सो रकमबाट पिकनिक स्पोर्टलाई टापु बनाउने योजना रहेको बताए ।

यसका लागि सरोकारवाला पक्ष बिच पनि सहमति भएकाले निर्माणले पूर्णता पाउने उनको भनाई छ । त्यसका लागि अहिले जेटबोट संञ्चालन भइरहेको पोखरी र पश्चिमको पोखरी एकआपसमा जोडिएपछि विचको भाग टापु बनिने पौडेलले बताए । सो निर्माण भएपछि प्रदेश एकको पहिलो नमूना प्राकृतिक पर्यटकीय स्थल बन्ने उनको भनाइ छ ।

 

taltalaiya 3 taltalaiya 2 taltalaiya 4 taltalaiya 1 taltalaiya 5