धरानः सिंगापुरे लाहुरेसँग विवाह गरेकी सुनसरीको धरान ११ निवासी २२ बर्षीया सोनी लिम्बूको मृत्यु प्रकराण्मा प्रहरीले उनका ससुरासहित ४ जनालाई आज पक्राउ गरेको छ ।

धरानका युवराज माबोसँग तीन महिना अगाडि विवाह गरेकी तेह्रथुम माइत भएकी सोनी हाङ्मा लिम्बू सोमबार मृत अवस्थामा कोठामा फेला परेकी थिइन । कोठामा झुन्डिएर आत्महत्या गरिएको परिवारले बताएपनि माइती पक्षले उनको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको थियो । घटना स्थल प्रहरी पुग्दा सोनीको शव ओछ्यानमा थियो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार माइती पक्षले दिएको जाहेरीको आधारमा उनका ससुरा ६१ वर्षीय भीम माबो, जेठानी दिदी २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र देवर २० वर्षीय हेमकुमार माबोलाई बुधबार पक्राउ गरिएकोे हो । पक्राउ परेकाहरूलाई बिहीबार जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने तयारी छ । माइती पक्षले शंकास्पद व्यक्तिहरु पक्राउ नगरी पोस्टमार्टम गर्न नदिने अडान राखेको थियो ।
माइती पक्षले सोनीलाई घर परिवारबाट टर्चर दिएको र उनको मृत्यु भएकोबारे पनि आफूहरुलाई जानकारी नदिएकोले घटना रहश्यमय भएको बताएको छ । सोनीको मृत्युको खबर सिंगापुरबाट आफन्तले दिएको काका टेकराजले बताए ।

झुन्डिएको अवस्थामा झारिएको हो भने किन तुरुन्तै हस्पिटल लगिएन भन्ने प्रश्न माइती पक्षको छ । यस्तै घाँटीमा गोलो दाग भएको, रालसिंगान केही नदेखिएको तथा झुण्डिएको भनिएको सल नकाटी र नखोली शव झारियो भन्नु रहश्यमय रहेको उनीहरुको भनाइ छ ।

काका टेकराजका अनुसार तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेकी सोनी र सिङ्गापुर प्रहरीमा कार्यरत मावो लिम्बूबीच फेसबुकमा चिनजान भएर प्रेम सम्बन्ध बसेको थियो । गत असार ५ गते फुलमाला भएको र पछि विवाह गर्ने भन्दै युवराजले सोनीलाई धरान ल्याएको माइती पक्षले जनाएको छ ।
सिंगापुरे लाहुरेसँग विवाह गरेकी सोनीका श्रीमान भने विवाहपछि सिंगापुर फर्किसकेका छन । श्रीमान नभएको बेला सम्बन्ध विच्छेद गर्न दबाब दिएको र अहिले हत्या गरेको सोनीका काका टेकराज तिगेलाले बताए ।

सोनीका परिवारले भने सोमबार बिहान खाना खान बोलाउदा नबोलेपछि ढोका फोडेर हेर्दा सलले पंखामा झुण्डिएको अवस्थामा भेटेको दावी छ । झुण्डिएको देखेपछि देवरले समातेर उचालेको र छिमेकी एक महिलाले सलको पासो फुस्काएको उनीहरुको भनाइ छ ।