इटहरीः मोरङको कानेपोखरी लेटाङ सडकखण्डको जङ्गलमा शङ्कास्पद अवस्थामा इटहरीका एक पुरुष मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा इटहरी उपमहानगरपालिका १० घर भएका ३० वर्षीय उमेश मिश्र रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका निमित्त प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङका अनुसार गलामा प्लास्टिकको डोरीले रुखमा पासो लगाई झण्डिएको अवस्थामा स्थानीय महिलाहरुले उनको शव फेला पारेका थिए । शव देखेपछि उनीहरुले प्रहरीलाई जानकारी गराएको र लगत्तै घटनास्थलमा परिचालित प्रहरीले शवलाई पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको डीएसपी मुकारुङले बताए ।

मृतक शुक्रबारदेखि नै मोटरसाइकलसहित बेपत्ता रहेको प्रहरीले जनाएको छ । मृतक रुखमा झुण्डिएपनि हात र खुटामा बाँधिएको जस्तो दाग रहेको प्रहरीको भनाइ छ । शव भेटिएको स्थानमा मोटरसाइकल कुदेको डोब, रगतका टाटासमेत रहेको र घटनास्थल मडारिएको कारण घटना शङ्कास्पद भएको आशंका गरिएको छ । मृतकले प्रयोग गरेको मोटरसाइकल भने शव भेटिएको स्थानदेखि केही पर फेला परेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।