काठमाडौं/ मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल शुक्रबार बिहान पनि अवरुद्ध भएको छ । विदेशबाट यात्री लिएर आएका विमानहरु अवतरण गर्न नसकेपछि फर्काइएका छन् ।

विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि उडान अवतरण ठप्प भएको हो ।

रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । तर, विमान नहटाइएसम्म अन्य उडान अवतरणमा कठिनाइ भएको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो ।

गएरातिदेखि नै मालिन्दोको जहाजलाई हटाउने प्रयास भइरहेको छ । तर, शुक्रबार बिहान पनि हटाउन सकिएको छैन । यसलाई हटाउन अझै केही घण्टा लाग्ने विमानस्थल स्रोतले बतायो ।