इटहरीः मोरङको विराटनगरस्थित विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा परिणत गरिने भएको छ ।

यसका लागि संघीय र प्रदेश सरकारबीच सम्झौता सम्पन्न भएपछि योजना अघि बढ्नेछ । विमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार पाँच सय मिटर हुने संघीय सरकारको निर्णय र तीन हजार मिटर हुनुपर्ने प्रदेश सरकारको जिकीरका कारण लम्बाइबारे अन्यौल कायमै रहेपनि भोलि सोमबार संघीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयबीच विमानस्थल विस्तारको समझदारीपत्रमा हस्ताक्षर हुने भएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियैतले जानकारी दिए ।

संघीय सरकारका तर्फबाट पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले हस्ताक्षर गर्ने कुशियैतको भनाइ छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका विराटनगर प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि गत वर्ष केही जग्गा अधिग्रहण गरिएकोमा थप अधिग्रहण बाँकी रहेको छ । दुई हजार पाँच सय मिटरको धावनमार्ग क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि अपर्याप्त हुने हुँदा तीन हजार मिटर लम्बाइ कायम गर्नुपर्ने उनको जिकीर छ । यद्यपी हाललाई दुई हजार पाँच सय मिटरकै धावनमार्ग निर्माण हुनेगरी सम्झौता हुनसक्ने उनको अनुमान छ ।