इटहरीः प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता अक्टोबर १२ र १३ तारिखमा हुँदैछ ।
अनलाइन प्रविधिबाट हुने प्रतियोगितामा नेपाल प्रहरी र नेपाली सेना गरी ४४ टिमका २ सय ८ खेलाडीले कौशल प्रर्दशन गर्ने आयोजक मध्येको एक कागेश्वरी मनोहराका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन् । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता पार्वती गुरुङ, सन्जिला तिम्सिना, सुशिला राई, स्वस्तिका तामाङलगायत अन्य पदक विजेताको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा हुन लागेको प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार दिइने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् ।
सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ । अवार्डको राशी ५ हजार नगद पुरस्कार रहेको छ । यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो यु ट्युबमा राखिने छ । त्यस मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिने छ । यसको नतिजा अक्टोबर २० तारिखमा सर्वाजनिक गरिने छ । प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मिन न्यौपाने रहेका छन् ।