इटहरीः कोरोना भाइरस (कोभिड– १९) कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको छ ।
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए । ‘तिहार अघि नै हामीले सुवासलाई नगदसहित सम्मान गर्ने तयारी गरेका छौं ।’– सुवासलाई बधाइ दिदै वैद्यले भने ।
लकडाउन र निशेधाज्ञाका दौरान सुवासले ३ अन्तर्राष्ट्रिय र १ राष्ट्रिय गरी ४ प्रतियोगितामा सहभागिता जनाएका थिए । चार प्रतियोगितामा उनले ३ स्वर्ण र १ रजत जिते । चारैमा उनले एकल कातामा आफ्नो कौशल प्रदर्शन गरेका थिए ।
हालै सम्पन्न सातौं निशिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता (फिलिपिन्स) मा उनले स्वर्ण जितेका थिए । त्यसअघि विश्व कराते च्याम्पियनसिप (माल्टा) मा रजत जितेका सुवासले अल नेपाल ओपन कराते प्रतियोगितामा स्वर्ण जिते । अन्तर्राष्ट्रिय अनलाइन इ काता कराते प्रतियोगिता (भारत) मा सुवासले नेपाललाई स्वर्ण दिलाएका थिए ।
विभागीय टोली एपीएफका सुवास सातौं राष्ट्रिय खेलकुदका स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदका रजत पदक विजेता हुन् ।