इटहरीः प्रदेश सांसद कुसुम श्रेष्ठले अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरूलाई पेन्सन दिनुपर्ने बताएकी छिन् । उनले यो कुरा प्रदेश सरकारको पूर्ण बजेट अगाडि आएको नीति तथा कार्यक्रमका बारेमा बोल्दा सदनमै उठाएकी थिइन् ।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली झण्डामुनि खेल खेलेर विजेता खेलाडीलाई पेन्सन दिँदा राज्यले थेग्ने सांसद श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरू सीमित हुन्छन् । उनीहरूलाई पेन्सन दिन राज्यले धान्छ ।’ खेलाडीलाई पेन्सन दिँदा खेलकुदमा जीवन समर्पण गर्नेहरूलाई आशा र उत्साह आउने सांसद श्रेष्ठको तर्क छ ।
पूर्व उसु खेलाडी र उसु सङ्घको केन्द्रीय उपाध्यक्षसमेत भएकी सांसद श्रेष्ठ ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ नारामा मात्रै सीमित हुन नहुने बताउँछिन् । उनी भन्छिन्, ‘राम्रो खेल कौशल हुुने खेलाडीहरू खेलबाटै जीवन चल्छ भन्ने हुनुपर्छ । त्यसको लागि पेन्सन कार्यक्रम आउनुपर्छ ।’
‘जिल्ला जिल्लामा खेलाडी उत्पादन गर्न भौतिक पूर्वाधार’
अन्तर्राष्ट्रिय खेलका पदकधारीलाई पेन्सन दिएजस्तै जिल्ला जिल्लाबाट खेलाडीहरू उत्पादन गर्न भौतिक संरचना आवश्यक भएको उनको तर्क छ ।
खेलकुदको लागि सूचना र प्राविधिक ज्ञान इन्टरनेटबाट पाउने जमानामा ‘इनडोर’ र ‘आउटडोर’ खेलकुदका पूर्वाधार आवश्यक रहेको श्रेष्ठको तर्क छ ।
धनकुटाबाटै बुद्ध चेम्जोङ, किरण चेम्जोङ, सुजल श्रेष्ठजस्ता खेलाडी राष्ट्रिय स्तरका भएको उदाहरण दिँदै श्रेष्ठले भनिन्, ‘खेलाडी त कुना कन्दरामा हुन्छन् । उनीहरूलाई चिन्न र खेलकुदमा ल्याउन जिल्ला जिल्लामा भौतिक पूर्वाधार र प्रशिक्षण हुनुपर्छ ।’