सङ्खुवासभाः जिल्लामा केही दिन अघि एक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितमा सङ्खुवासभा, भोजपुर, मोरङ लगायत २८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि भोजपुरले जित्यो ।
पछिल्लो केही वर्षयता सङ्खुवासभामा ब्याडमिन्टनको माहोल यति तातेको छ कि लगानी र प्रतियोगिताका हिसाबले अरु खेल तथा प्रतियोगिता पछाडि परेका छन् । सङ्खुवासभामा ब्याडमिन्टन खेलको शुरुवातको इतिहास खासै लामो भने छैन ।

जिल्ला खेलकुद विकास समितिको तथ्याङ्क हेर्दा १ वर्षमा ब्याडमिन्टनका ३ ठूला प्रतियोगिता जिल्लामा सञ्चालन हुने गरेका छन् । २०६२ सालमा जिल्ला खेलकुद विकास समितिमा जिल्ला ब्याडमिन्टन सङ्घ दर्ता भए पनि जिल्लामा नै प्रतियोगितात्मक रूपमा खेल्न थालिएको करिब ५ वर्ष मात्रै भएको छ ।

करिब दशक अघि दर्ता भएको ब्याडमिन्टन सङ्घले अहिलेसम्म ठूलै छलाङ मारिसक्नुपर्ने यसमा आबद्ध खेलाडी नै बताउँछन् । तर आखिर किन त्यसो हुन सकेको छैन, खेलाडीहरू किन जिल्लामा मात्रै खुम्चिएर बस्नुपरेको छ भन्नेबारे कसैको चासो गएको देखिँदैन ।
जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष प्रवीण शेर्पा पहाडमा ब्याडमिन्टनको माहोल राम्रै भए पनि प्राविधिक पक्ष भने कमजोर भएको बताउँछन् । जिल्लामा ब्याडमिन्टनका विभिन्न साना ठूला प्रतियोगिता निरन्तर भइरहे पनि तथा खेलाडीमा कौशल र जोश भए पनि समग्र टिमको खेलमा रणनीतिक अभाव रहेको शेर्पाले बताए ।

रणनीतिबिना जोशले मात्रै खेल्दा कतिपय खेलमा अग्रस्थानमा हँदाहुँदै पनि टिमले हार्ने गरेको ब्याडमिन्टन खेलाडी क्षितिज बरालले अनुभव सुनाए । आफूहरू आफ्नै अभ्यासले मात्र खेलिरहनु परेकाले पनि प्राविधिक रूपले कमजोर रहेको बरालले बताए । दक्ष प्राशिक्षकबाट प्रशिक्षण पाए खेलको स्तर बढ्ने उनको दाबी छ ।
प्राविधिक कमजोरीका कारण ब्याडमिन्टनले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको खेलाडीहरूको गुनासो छ । प्रतियोगिताको सङ्ख्या र पुरस्कार राशि मात्रै नबढाएर खेलाडी तथा प्रशिक्षकहरूको दक्षता अभिवृद्धिका निम्ति पनि बजेट खर्चन सकेमात्र फुटबलको विकास हुने खेलाडीहरूको भनाइ छ ।

बजेट अभावमा खेलाडीहरूलाई प्रशिक्षण दिन नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरतकुमार घिमिरेले स्वीकार गरे । ‘एन्फाको तालिका अनुसारको प्रतियोगिता सञ्चालन गर्न सीमित बजेट आउँछ । अरु कार्यक्रम गर्न सम्भवै छैन’, उनले समस्या सुनाए ।
जिल्लास्तरीय तथा पालिका र वडास्तरीय प्रतियोगिता धेरै सञ्चालित छन् । जिल्ला खेलकुद समितिमा १७ वटा खेल सम्बद्ध क्लबहरू आबद्ध छन् भने खेलकुद विकासका लागि गठन गरिएका विभिन्न विधाका ११ वटा सङ्घहरू आबद्ध छन् ।

त्रिपाल बेरेर कभर्ड हल
ब्याडमिन्टन खेलमा पुरस्कार राशी सानै भए पनि खेलाडी र खेलप्रेमीको उपस्थिति कम छैन । जिल्ला स्तरीय डबल समूहमा गरिने प्रतियोगिताहरूमा करिब ३० वटा समूहको प्रतिस्पर्धा हुने गरेको छ । अहिले जिल्लाका झन्डै २६ स्थानमा कोर्ट निर्माण भएको छ । जसबाट थुप्रै खेलाडीहरू उदाएका छन् । तर व्यवस्थित खेलमैदान (कभर्ड हल) नहुँदा खेलाडीहरूले सास्ती खेप्दै आएका छन् ।

जिल्लाका विभिन्न स्थानमा ब्याडमिन्टन खेल सञ्चालन हुने भए पनि कुनै पनि स्थानमा व्यवस्थित खेलमैदान छैन । खेलमैदान अभावमा खेलाडीहरू सरकारी कार्यालयहरूको परिसरभित्र तथा निजी जग्गामा बनाइएका ब्याडमिन्टन कोर्डमा खेल खेल्न बाध्य छन् ।
विभिन्न समयमा जिल्लास्तरीय प्रतियोगिताहरू हुने भए पनि प्रतिकूल मौसमका कारण खेलहरू प्रभावित हुने गर्छन् ।

कभर्ड हल नहुँदा खाँदबारी नगरपालिकाभित्र मात्र ५÷६ स्थानमा खेलाडीहरू मार्फत् आर्थिक सङ्कलन गरी कोर्ट व्यवस्थित बनाउन खोजिएको छ । एउटा कोर्टलाई व्यवस्थापन गर्न त्रिपाल र बाँसको लागि करिब ६० हजार रुपैयाँ खर्च गरे पनि यो कार्य दिगो छैन । ब्याडमिन्टन खेलको विकासमा कभर्ड हल नहुँदा समस्या भएको खेलाडी सोनाम लामाले बताए ।

जिल्ला स्तरमा थुप्रै ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भए पनि कभर्ड हल निर्माण पक्रिया भने अघि बढ्न नसकेको खेलाडी निराकार बज्रचार्यले बताए । कभर्ड हल निर्माणका लागि विभिन्न निकायबाट आश्वासन आए पनि अहिलेसम्म निर्माण नहुनु दुखद विषय भएको सङ्घका अध्यक्ष शेर्पाले बताए ।

हल निर्माणका लागि पटकपटक नियामक निकायहरूमा अनुरोध गरिए पनि यसप्रति चासो नदेखाएको शेर्पाको भनाइ छ । तर कभर्ड हल निर्माणका लागि जग्गा उपलब्ध नभएकाले जग्गा खोज्ने काम भइरहेको खाँदबारी नगरपालिका वडा नम्बर १ का अध्यक्ष निरञ्जन श्रेष्ठले बताए । उनका अनुसार जग्गा उपलब्ध भए तत्काल कभर्ड हल निर्माण प्रक्रिया अघि बढाउने थियौं ।