बेलबारीः बेलबारीमा जारी लालभित्ती ढल्के जोवन फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट भेट्रान क्लब बेलबारीले हात पारेको छ ।
दशैंको अवसर पारेर नरेन्द्र स्मृति क्लबले बेलबारी – २ मा रहेको सिंहदेवी खेलमैदानमा प्रतियोगिता आयोजना गरेको थियो । ३५ वर्षभन्दा माथिका खेलाडी सहभागी फुटबल प्रतियोगितामा ० का विरुद्ध १ गोलले पथरी भेट्रानलाई हराउँदै एभरेष्ट भेट्रानले उपाधी हात पारेको हो ।

खेलको शुरुदेखि नै पथरीलाई एभरेष्टले दबाबमा राखे पनि पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । दोस्रो हाफमा मात्र एभरेष्टले गोल लगाउन सफल भएको थियो ।

खेलको ३४ औं मिनेटमा एभरेष्टका जर्सी नम्बर ११ का खेलाडी विमल सुब्बाले हानेको गोलले नै एभरेष्टलाई विजयी बनाएको थियो । बल गोलकिपरको हातबाट चिप्लिएर जाली चुम्न पुगेको थियो ।

लगत्तै एभरेष्टका जर्सी नम्बर ७ का खेलाडीले पोष्टमै प्रहार गरे पनि गोलकिपरले उनको प्रहारलाई रोकेका थिए ।

प्रमुख अतिथि बेलबारी –२ का वडाध्यक्ष घनश्याम गौतमले विजयी टिमलाई शिल्ड तथा पुरस्कार प्रदान गरेका थिए ।

सो प्रतियोगिता अवधिभरमा पथरी भेट्रानका संजोग राईले सर्वाधिक गोल गरेका थिए । पथरीकै लीलानाथ भारती उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा पहिलो हुनेलाई ३० केजीको खसी र शिल्ड तथा दोस्रो हुनेलाई २० केजीको खसी र शिल्ड प्रदान गरिएको थियो ।

belbari football (3) belbari football (2)