इटहरीः गत वर्ष वैदेशिक रोजगारीबाट नेपाल (स्वदेश) फर्किएका संखुवासभाका इश्वर धमला विगत नौ महिनादेखि मोरङको सुन्दरहरैँचा नगरपालिकाको गछियामा रहेको एक ड्राइभिङ सेन्टरमा सानो सवारी (लाइट गाडि) चलाउन सिक्दै आएका छन् । उनले कोरोना महामारीभन्दा पहिले नै विदेशमा काम गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका थिए । वैदेशिक रोजगारीबाट उनले आफूसँगै परिवारको पनि रेखदेख गर्दै आएका थिए ।
तर, उनी नेपाल आउनेबित्तिकै विश्वभर कोरोना महामारी फैलियो । कोरोना रोकथामका लागि विभिन्न देशले धमाधम लकडाउन गरे । पुनः विदेश जाने सोच बनाएका धमला कोरोनाका कारण जना सकेनन् । घरमै बस्दा आर्थिक समस्या हुने भन्दै उनी गछियामा ड्राइभिङ सिक्न आए । कोठा भाडामा लिएर ड्राइभिङ सिक्दै आएका उनले नौ महिना बितिसक्दा पनि लाइसेन्सको लागि आवेदन दिन सकेका छैनन् । उनी लामो समयसम्म कोठा बस्दा र ड्राइभिङ सेन्टरलाई पैसा तिर्दा समस्यामा परेको बताउँछन् । ‘अब पुनः विदेश जानु नपरोस् र स्वदेशमै केही गरेर यहाँ पैसा कमाउन सकियोस् भनेर मैले ड्राइभिङ सिक्ने सोच बनाएँ । त्यही सोच लिएर म गछियामा विगत नौ महिनादेखि ड्राइभिङ सिक्दैछु । संखुसभाबाट यहाँ आउँदा मैले कोठा भाडा पनि तिर्दै आउनुपरेको छ । लाइसेन्स नखुल्दा अहिले मलाई धेरै समस्या भएको छ’, उनले भने ।
नेपालमा पनि कोरोना रोकथामको लागि गत वर्षको चैतबाट लकडाउन लागु भयो ।तीन महिना लामो लकडाउन र त्यसपछि पटक पटक गरी लागु गरिएको निषेधाज्ञा पनि हाल खुलेको अवस्था छ । सबै सरकारी तथा निजि कार्यालय र विद्यालयसम्म खुलेको अवस्थामा लाईसेन्सको दार्ता फारम नखुल्दा धमलासँगै धेरै सेवाग्राही मारमा परेका छन् । यातायत व्यवस्था कार्यालय पनि खुलिसकेको छ । सोही कार्यालयबाट हुने अन्य काम भने भइरहँदा र लाइसेन्सको फारम नखुल्दा उनलाई कता कता पुनः विदेश नै जाने हो कि भन्ने लागेको छ । ‘लाईसेन्स नखुल्दा मलगायत ड्राइभिङ सिक्ने धेरै मारमा पेरका छौँ । अहिले म मज्जाले गाडी कुदाउन सक्छु । ट्रायल दिन पनि सक्षम छु । तर, दर्ता फारम नै नखुल्दा मलगायत सबै मारमा परेका छौँ’, उनले भने ।
उनीजस्तै मारमा परेका छन् नगेन्द्र मगर । नगेन्द्र पनि केही गर्न सकिन्छ भनेर ड्राइभिङ सिक्न आएको तर अहिले ड्राइभिङ लाइसेन्सको फारम नखुल्दा मारमा परेको बताउँछन् । ‘आफ्नै देशमा केही गरौँ भनेर विदेशबाट घर आइयो । गाडि पनि सिकियो । झण्डै १० महिना अगाडिदेखि गाडि सिक्दै आएको छु । अहिले त म मज्जाले कुदाउन पनि सक्ने भएको छु । यति सबै गर्दा पनि अहिले आएर लाइसेन्स नखुल्दा धेरै नै समस्या भएको छ । सबै कामहरु खुलिसक्यो तर लाइसेन्सको फारम खुलेको छैन । चाँडो लाइसेन्स खुले हामीलाई राहत हुने थियो’, उनले भने ।
दैनिक मोटरसाइकलमा क्याम्पस गएर पढाउँदै आएका सुकुना बहुमुखी क्याम्पस विराटचोकका शिक्षक अर्जुन अधिकारीको पनि पीडा उस्तै छ । उनी दैनिक गछियाबाट विराटचोक पढाउन जानुपर्ने तर लाइसेन्स नहुँदा दैनिक जरिवना तिर्दै आउनुपरेको गुनासो गर्छन् । उनले त्रिभुवन विश्वविद्यालयले पनि आफ्ना रोकिएका परिक्षा सञ्चालन गर्न थालेको भन्दै सवारी अनुमतिपत्रको फारम खोल्न विलम्ब गर्न नहुने बताए । ‘म सुन्दरहरैँचा ३ गछियामा बस्छु । विराटचोकमा रहेको सुकुना क्याम्पसमा अध्यापन गर्दै छु । म सँधै बाइकमा क्याम्पस जान्छु । लाइसेन्स नहुँदा दैनिकजसो फाइन तिर्नुपरेको छ । यसले हामीलाई धेरै मार परेको छ । त्यसैले अविलम्ब लाइसेन्सको फारम खुलाउन मेरो अनुरोध छ’, उनले भने ।
उनीहरुजस्तै लामो समयसम्म सवारी चालक अनुमतिपत्र लाइसेन्सको फारम नखुल्दा धेरै सेवाग्राही मारमा परेका छन् । मारमा पर्नेमा मोटरसाइकलदेखि ठूला यातायातको साधन चालउनेसम्म छन् । यता, सरकारले भने तत्काल सवारी चालक अनुमतिपत्रको फारम खुलाउँदा कोरोना महामारीको जोखिम थप उच्च हुने भन्दै दुई महिना अझै फारम नखुल्ने बताएको छ ।