इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १३ खनारस्थित एक उद्योगले प्रदुषण फैल्याउँदा उद्योग नजिकका स्थानीय आजित बनेका छन् ।
२०७६ सालमा स्थापना भएको सो उद्योगबाट निस्कने गन्धले त्यहाँका स्थानीयलाई प्रभाव परेको हो । यो समस्याबाट यहाँ झण्डै ६० परिवार प्रभावित बनेका छन् । यहाँका स्थानीयका अनुसार त्यो उद्योग स्थापना भएपश्चात यहाँ मानिस, पशुपन्छि र बालीनालीमा पनि समस्या देखिन थालेको छ । स्थानीयमध्ये एक टिकामाया चापागाईँले उद्योगले आफूहरुलाई धेरै नै प्रभाव पारेको जानकारी दिइन् । उनका अनुसार सो उद्योगबाट निस्किएको गन्ध तथा रसायनले यहाँका मानिसहरु बिरामी हुने, जनावरहरु बिरामी हुने तथा मर्ने र विषादियुक्त निकासले धान तथा अन्य बालीमा प्रभाव परेका छ । खनारको गणेश मन्दिरबाट पश्चिममा रहेको यो उद्योगमा के उत्पादन हुन्छ भन्ने विषयमा पनि यहाँका स्थानीय अनभिज्ञ छन् । यो उद्योगको न कुनै होर्डिङ बोर्ड नै छ, न त उद्योगको नाम नै ।
यो उद्योगले इटहरी १३ मा मात्र नभएर ११ र १२ मा पनि प्रभाव परेको स्थानीयको भनाइ छ । अर्की स्थानीय मत्ली चौधरीले आफूहरु मर्न ुन बाँच्नुको अवस्थामा पुगेको बताइन् । साथै उनले यो विषयमा पटक पटक जानकारी गराउँदा पनि कुनै तहबाट पहल नभएको गुनासो गरिन् । उनले न्याय पाउनुको सट्टा आन्दोलन गर्दा कारबाहीमा परेको बताइन् । यहाँको समस्याका विषयमा स्थानीयहरुले वडा कार्यालयदेखि मानव अधिकार आयोगसम्म जानकारी गराएका छन् । तर, कुनै ठाउँबाट पनि यहाँका स्थानीयले उचित निकास पाएका छैनन् । विभिन्न ठाउँमा बैठक तथा छलफल भए पनि सो अनुसारको प्रतिफल यहाँका स्थानीयले पाएका छैनन् । त्यो उद्योगमा काम गर्ने कर्मचारी पनि विभिन्न शारिरीक समस्याबाट गुज्रिँदै आएका छन् ।
स्थानीय तथा सो उद्योगमा काम गर्ने श्याम पोद्दाारले उद्योग प्रशासनले काम मात्र लगाउने तर कर्मचारीको स्वास्थ्यमा कुनै ख्याल नगर्ने बताए । उनले केही समयअगाडि सोही उद्योगको ग्याँस प्लान्टमा काम गर्दा आफू बिरामी परेका तर उद्योगले कुनै सहयोग नगरेको बताए । यहाँका स्थानीयले यो समस्याका बारेमा गत वर्षको फागुन ८ गते वडा कार्यालयमा जानकारी गराएका थिए । वडाबाट सो समस्या हाल गर्न कुनै पहल नभएपछि गत वैशाख २८ गते इटहरी उपमहानगरपालिकामा निवेदन दिएका थिए । निवेदनपश्चात् त्यहाँ उद्योगका प्रतिनिधि, नगरका प्रतिनिधिसहित स्थानीयको छलफल भयो । यसले पनि यो समस्यामा विराम लागेन । त्यसपछि गत असार ७ गते स्थानीयले समस्या हल गर्न राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश १ कार्यालयमा उजुरु दिए । यति हुँदा पनि यहाँका स्थानीयले यो समस्यबाट अझै मुक्ति पाएका छैनन् ।