इटहरीः सुनसरी मोरङ सिँचाई आयोजनाले नहर सफा गर्न स्काभेटर सञ्चालन गर्न थालेपछि नहरको जग्गामा बस्नेहरु विस्थापित भएका छन् ।
वि.सं २०५५ सालमा स्थापना भएको सो आयोजनाले हाल सुनसरीको इटहरी उपमहानगरपालका, रामधुनी नगरपालिका र बरहाक्षेत्र नगरपालिकमा सफाइ गर्ने कामलाई तिव्रता दिएको हो । नहर सफा गर्दा किनारमा बस्ने सुकुम्बासीहरुको घरबार गुमेको हो । नहरले ती ठाउँका बस्तीलाई हटाएको यो पहिलो पटक भने होइन । झण्डै ६ वर्षअगाडि २०७२ सालमा पनि नहरले आफ्नो क्षेत्रभित्र पर्ने घर टहरा हटाएको थियो । यो पटक पनि आयोजनाले स्थानीय सरकारसँग समन्वय गरेर नहर सफा गरेको हो । सफा गर्नुअगाडि आयोजनाले सम्बन्धित वडा कार्यालयमार्फत् नहरमा बस्दै आएकाहरुलाई जानकारी गराएको थियो । नहरको जग्गामा वर्षौँदेखि बस्दै आएका एक जनाले नहरले घर भक्काएपछि धेरै दिन कष्टकर रुपमा रात बिताएको जानकारी दिए । साथै उनले जनप्रतिनिधिसँग बारम्बार हारगुहार गर्दा पनि आफ्नो माग नसुनेको बताए ।
केही वर्षअगाडि भत्किएको घर पुनः बनाउँदा फेरि भत्काएपछि यहाँका ५६ परिवार विस्थापित भएका छन् । उनीहरु यो बेला अस्थायी रुपमा पाल टाँगेर बसिरहेका छन् । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका यहाँका विस्थापितहरुलाई दैनिकी चलाउन मुस्किल परेको छ । अर्की विस्थापित सुनिता देवीले अब बस्नको लागि आफूहरु नयाँ ठाउँको खोजीमा रहेको बताइन् । उनले सुरुमा त्यो ठाउँमा बस्दा आफूलाई नहरको जग्गा भएको थाहा नै नभएको जानकारी दिइन् । साथै उनले अरुले पनि यहाँ घर बनाएकोले आफूले पनि घर बनाएको बताइन् । यो जग्गा सिँचाईको हो भन्ने सबैलाई थाहा छ । तर, सुकुम्बासी भएको र लामो समयदेखि यही ठाउँमा बस्दै आएकाले उनीहरु यो ठाउँ छोडेर जान तयार छैनन् । विस्थापित मध्येका एक निशान बस्नेतले पहिला यो ठाउँमा भएका घर भक्काएपछि पुनः बनाउनै दिन नहुने बताए ।
उनले एक्कासी घर भत्काउँदा आफूहरु विचल्लिमा परेको गुनासो गरे । सिँचाई आयोजनाको जग्गा भएकाले स्थानीय तहले पनि केही गर्न सकेको छैन । रामधुनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष डेगराज फुयाँलले आयोजना कार्यालयले वडालाई अधिग्रहण गरेर बसेका परिवारका सन्दर्भमा आवश्यक सहजीकरण गर्न पत्राचार गरेको जानकारी दिए । उनले वडा कार्यालयले आयोजनाको पत्र जस्ताको तस्तै नहरका बासिन्दालाई बुझाएको बताए । साथै उनले ती विस्थापितको विषयमा नगरपालिका तथा प्रदेश सरकारले तदारुकता देखाउनुपर्ने बताए । उनले विस्थापितलाई स्थायी पुनर्बासका लागि एउटा वडा कार्यालयको पहलले असम्भव रहेको बताए ।
आयोजनाले धमाधम काम अगाडि बढाइरहेको छ । पुष १० गतेसम्म सुनसरी खण्डको सफाइको काम सक्ने आयोजनाले पत्रमार्फत् जानकारी दिएको छ । नहर सफाइबाट विस्थापित भएका परिवारको सन्दर्भमा आयोजनाले केही गरेको छैन । मौखिक रुपमा कुनै अन्य आयोजनाकै जग्गामा पुनस्र्थापना गरिदिने आश्वासन दिँदै आएको आयोजनाले अहिलेसम्म कुनै ठोस कदम भने चालेको छैन ।