इटहरीः सडकमानव अर्थात् तपाईँ हामीले दिनहुँजसो सहरको सडक पेटीमा फोहोर संकलन गर्दै हिँडेको देख्दै आएका मानिसहरु । उनीहरुको दैनिकी नै सडक पेटीमा बित्ने गर्दछ । परिवारमा भएको समस्याका कारण र परिवार नै नभएकाहरु सडकमा आउने गरेका छन् । कतिपय चाहीँ परिवार हुँदाहुँदै पनि आफूखुसी सडकमा आउने गरेको हामीले पाउने गरेका छौँ । नेपालमा पनि सडकमानवको संख्या अत्याधिक छ । कुनै निकायसँग नेपालमा कति सडकमानव छन् ? भनेर यकिन तथ्याङ्क भने छैन । विभिन्न सहरमा अधिकारकर्मी तथा सामाजिक संघसंस्थाहरुले सडकमानवलाई उद्धार गर्दै आएका छन् । अहिले नेपाल सरकार तथा प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रदेश १ लाई सडकमानवमुक्त बनाउने अभियान नै सञ्चालन गरेको छ । वर्षौँदेखि सडकमा बस्दै आएका सडकमानवलाई मानवसेवा आश्रमको सहयोगमा उद्धार गर्ने अभियान थालिएको हो । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले वास्तविक रुपमा नै सहारा गुमाएकाहरुलाई साहारा दिन यो अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले आज शुक्रबार सुनसरीका सबै पालिकाबाट बेसहाराहरुको उद्धार गरिने बताए । साथै उनले मानवसेवा आश्रमले २०७८ सम्म देशबाट सम्पूर्ण सडकमानवलाई हटाएर सडकमानवमुक्त देश बनाउने जानकारी दिए । यो अभियानबाट वास्तवमै परिवार गुमाएकाहरुको मुल्याङ्कन गरिने र परिवार भएकालाई परिवारसँगै दीर्घकालीन पुनर्मिलन गराइने उनको भनाइ छ ।
सुनसरीको इटहरी, धरान तथा प्रदेशका अन्य जिल्लाका विभिन्न ठाउँमा या भन्दा पहिला पनि यहाँका स्थानीय सामाजिक संघसंस्थाहरुले सडक बालबालीका र मानवलाई उद्धार गर्दै आएका थिए । इटहरीकी सामाजिक अभियन्ता मनिता तामाङले योभन्दा पहिला सडकमा बस्नेहरुलाई खाना, कपडा वितरण गर्ने र केही समय उद्धार गर्दै आएको र यसले उनीहरुको दीर्घकालिन पुनर्मिलनमा कुनै प्रभाव नपरेको जानकारी दिइन् । यो अभियानबाट उद्धार भएकाहरुको वास्तवमै परिवारसँग पुनर्मिलन हुने उनको विश्वास छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले केही समयअगाडि विराटनगरमा रहेका सडक मानवलाई उद्धार गर्दै यो अभियान आरम्भ गरेको थियो । स्वयम सामाजिक विकास मन्त्री जीवन घिमिरे नै विराटनगरको सडकमा गएर सडकमानवको उद्धारमा जुटेका थिए । मानिसहरु परिवार नभएर, काम नपाएर, गरीब तथा बेसहारा भएर सडकमा आउने गरेको पाइएको सामाजिक विकास मन्त्रालय प्रदेश १ का सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिए । यो अभियानबाट परिवार नभएकालाई सम्मानपूर्वक जीवनयापन गराउने वातावरण तयार गर्ने र परिवार भएकाहरुलाई परिवारसँगै दीर्घकालीन जीवनयापनका लागि पहल गरिने उनको भनाइ छ ।
यो वर्ष कोरोना महामारीले गर्दा रोजगारी गुमाएर पनि कतिपय सडकमा आइपुगेका छन् । उद्धार गरिएका एक जनाले आफू गाडीमा सहायक चालकको काम गर्दै आएको तर लकडाउनले साहुले निकालेपछि सडकमा आइपुगेको जानकारी दिए । आफूलाई घर जानभन्दा पनि काममा जान मन लागेको उनको भनाइ छ । शुक्रबार मात्र प्रदेश सरकारले मानवसेवा आश्रमको सहयोगमा सुनसरीको धरान र इटहरीबाट एक सय ६ जना सडक मानवको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये आधालाई मानवसेवा आश्रमको विराटनगरमा रहेको आश्रममा राखिने र बाँकीलाई आइसोलेसनमा राखिने भएको छ । अहिले सुनसरी, झापा र मोरङमा यो अभियान चलिरहेको छ । विस्तारै प्रदेश १ का सम्पूर्ण जिल्लामा नै अभियान सञ्चालन हुने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।