इटहरीः इटहरीमा सञ्चालित प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी रकम दुवै टिमलाई बराबरी बाँडिएको छ । शिल्ड भने गोलाप्रथाद्वारा एउटा टिमलाई दिइएको छ ।

शनिबार शिखर सुज र एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबीच फाइनल खेल हुँदाहुँदै रात परेपछि पुरै खेलाउन सक्ने अवस्था नभएपछि उपाधी नै बाँडिएको हो । बेस्ट अफ ५ को खेलमा ४ सेट खेलाइसक्दा अँध्यारो भएपछि बाँकी १ सेट नखेलाई उपाधी बाँडिएको हो ।

४ सेटको खेलमा दुवै टिमले २–२ सेट जितेका थिए । निर्णायक खेल खेल्न नसक्ने अवस्था भएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टको रोहबरमा पुरस्कार बाँडिएको थियो । विजेतालाई नगद ७५ हजार र शिल्ड तथा उपविजेतालाई नगद ३५ हजार र शिल्ड दिइने भए पनि दुवै टिमलाई नगद ५५–५५ हजार दिइएको थियो ।

शिल्डको फैसला गोलाप्रथाबाट
बिजेताले पाउने शिल्डको लागि भने गोला प्रथा गरिएको थियो । गोला प्रथामा पुलिस भाग्यमानी ठहरियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका गोविन्द थापा भए । उनले नगद ५ हजार पाए । यस्तै बेस्ट लिफ्टर शिखर सुजका मुस्कान लिम्बू, बेस्ट ब्लकर एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका भुवन खड्का र स्पाइकर प्रदीप श्रेष्ठ घोषित भए । उनीहरू सबैले जनही नगद २–२ हजार पाए । विजयी सबै खेलाडी तथा टिमलाई राखेप सदस्य सचिव बिष्टले पुरस्कार प्रदान गरे ।

प्रगति समाज सेवा क्लबले आयोजना गरेको प्रतियोगिताको गत बिहीबार इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले उद्घाटन गरेका थिए । क्लबका अध्यक्ष विक्रम थापाका अनुसार क्लबले प्रत्येक वर्ष बडा दशै तथा शुभ दीपावलीको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । ३ दिनसम्म सञ्चालित चौथो संस्करणको प्रतियोगितामा विभागीय टिमसहित १० टिमको सहभागिता रहेको थियो । अघिल्ला संस्करण विश्व आदर्श स्कुलको खेल मैदानमा हँुदै आएकोमा सो प्रतियोगिता यस वर्ष क्षेत्रीय रङ्गशालामा सञ्चालन भएको थियो ।