चानुवा (धनकुटा)ः धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा खेलकुद विकास समिति र झिलिमिले युवा क्लबको संयुक्त आयोजनामा भएको फुटबल प्रतियोगितामा चानुवा गाविसको साबिक वडा नम्बर ६ विजयी भएको छ ।
आमा समूहतर्फको फुटबल प्रतियोगितामा सङ्गीता सारु मगरको टिम विजयी भएको छ । २०७५ सालको दशैंको शुभकामना आदानप्रदान गर्नुका साथै खेलको माध्यमबाट स्वस्थ मनोरञ्जन लिन र एकापसमा भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
साबिक चानुवा गाविसस्तरीय पुरुष फुटबल प्रतियोगितामा साविक वडा नम्बर ६ विजयी भएको हो । आमा समूहको प्रतियोगितामा ४ टिम सहभागी भएको आयोजकले जनाएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा मगरको समूहले २ को विरुद्धमा ३ गोल गरी उपाधी हात पारेको थियो ।
महालक्ष्मी नगरपालिकाको वडा नम्बर ४ का वडा सदस्य इन्द्र सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चानुवा खेलकुद संरक्षण समितिका संरक्षक बाबुराम कुँवर विशेष अतिथि रहेका थिए । विजेता र उपविजेता टिमलाई मेडल, र प्रमाणपत्रको साथमा क्रमशः नगद ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिएको चानुवा खेलकुद विकास संरक्षण समितिका अध्यक्ष मोहनकाजी खड्काले बताए । प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने संरक्षक कुँवरले जानकारी दिएका छन् ।
कार्यक्रममा महालक्ष्मीको वडा नम्बर ४ का वडाध्यक्ष यज्ञबहादुर चापागाई तथा नेकपाका नेताहरू विनोद भण्डारी, जगत पौडेल र दीपक बुढाथोकीले दिएको शुभकामना पत्र वाचन गरिएको थियो ।
दीपावलीको अवसर पारेर महालक्ष्मी नगरपालिकास्तरीय भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने कुँवरले बताए ।